कडा प्रतिस्पर्धा हुँदा कांग्रेसलाई नोक्सान हुन्छ, सकभर सर्वसम्मत गरौँ : देउवा

इटहरी । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अधिवेशनहरूबाट पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गरेका छन् ।

सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–२ मा आइतबार गाउँपालिकाको कार्यालय भवन उद्घाटनका क्रममा देउवाले पार्टीको १४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरेका हुन् ।

‘पार्टीको क्षेत्र, जिल्ला, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अध्यक्षसहितका पदाधिकारी सकभर सर्वसम्मतरूपमा चयन गर्नुस्’, देउवाले भनेका छन् ।

उनले सर्वसम्मत पदाधिकारी चयन गर्न नसकेमा स्वच्छ प्रतिष्पर्धाबाट निर्वाचित गर्न अनुरोध गरेका छन् ।

‘पार्टीभित्रैको आन्तरिक निर्वाचनमा कडा प्रतिष्पर्धाको हिसाबले नभई सकभर सर्वसम्वत गरौँ’, उनले भने, ‘नभए लोकतान्त्रिक पद्धतिअनुसार स्वच्छ निर्वाचन गरेर पदाधिकारी चयन गर्नुस् ।’

पार्टीभित्रको आन्तरिक निर्वाचनमा कडा प्रतिष्पर्धा भए आफ्नै पार्टीभित्रका नेता तथा कार्यकर्तामा द्वन्द्व हुने देउवाले बताएका छन् ।

पार्टीलाई समेत आउने निर्वाचनमा घाटा हुने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवाले नेता तथा कार्यकर्तालाई सचेत गराएका छन् ।

उनले यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सिँचाइ, कृषि, विकास निर्माण लगायतका क्षेत्रमा भएको समस्या समाधान गर्नका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

कार्यक्रममा प्रदेश १ का प्रमुख पर्शुराम खापुङ, उप–सभापति विजयकुमार गच्छादार, सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुुर कार्की, नेपाली कांग्रेस १ नम्बर प्रदेशका संसदीय दलका नेता राजिव कोइराला, प्रतिनिधि सभाका संसद् सीताराम मेहता, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुुख सञ्जयसिंह थापालगायतको सहभागिता रहेको थियो ।

Published : Sunday, 2021 November 21, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया