कार्यकर्ताले देखाइदिए ‘मुन्ना’लाई धुलो चाट्ने गरी औकात, देउवालाई नोक्सान

बर्दघाट । नवलपरासी जिल्लामा नेपाली कांग्रेसको अधिवेशनमा सभापति शेरबहादुर देउवा समूहले बीउ बचाएको छ ।

चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा देउवा समूहले जम्मा एउटा सभापतिमा मात्रै जितेको छ ।

तीन वटा क्षेत्रमा नेता रामचन्द्र पौडेल–शशांक कोइराला समूहले कब्जा जमाएको छ ।

नवलपरासीको क्षेत्र नं. १ प्रदेश सभा ‘क’मा वेदप्रसाद शर्मा सभापतिमा निर्वाचित भएका छन् । क्षेत्र नं. १ प्रदेश सभा ‘ख’मा अनुरेश कलवार निर्वाचित भएका छन् ।

क्षेत्र नं. २ ‘क’मा यामप्रसाद भुसाल र क्षेत्र नं. २ ‘ख’मा रामचन्द्र केवट ‘चन्दु’ सभापतिमा जितेका छन् । केवट सभापति देउवा निकटका हुन् । अरु सबै पौडेल–कोइराला निकटका सभापति हुन् ।

नवलपरासीबाट प्रतिनिधि सभामा निर्वाचित कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल ‘मुन्ना’ले देउवा समूहलाई जिल्लामा बिगारेका छन् । कँडेलको हर्कत र गतिविधिले नवलपरासी जिल्लाका नेता कार्यकर्ता रिसाएका छन् ।

कम्युनिस्ट समर्थक हृदयश त्रिपाठीसँग तालमेल गरेर सधैँ कांग्रेसका उम्मेदवार हराउँदै आएका कँडेललाई यस पटक नेता कार्यकर्ताले राम्रोसँग सबक सिकाएका छन् ।

आफ्नै क्षेत्रमा समेत पकड बनाउन नसकेका कँडेलका कारण सभापति देउवालाई ठूलो झट्का लागेको छ ।

देउवा समूहकै नेताहरूले कँडेलका कारण टिम छाडेर बाध्यताबस पौडेल–कोइराला समूहतिर लागेका छन् । कँडेलका कारण नवलपरासीका नेता कार्यकर्ता लामो समयदेखि पीडित छन् । देउवाले कँडेललाई साइजमा राख्नुपर्ने माग उठेपनि सुनुवाइ भएको छैन ।

आफ्नै जिल्लामा देउवा टिमलाई जिताउन नसकेका कँडेलले लुम्बिनी प्रदेशको सभापतिमा देउवा समूहबाट दाबी गरिरहेका छन् । लुम्बिनीको सभापतिमा कँडेलले उम्मेदवारी दिए भने पराजित हुने पक्का छ ।

Published : Sunday, 2021 November 21, 5:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया