एआईजी पालका ‘हर्कत’ कांग्रेस र सरकारविरुद्ध, प्रहरीभित्र उत्पात मच्चाउँदै

काठमाडौं । नेपाल प्रहरीको निमित्त प्रहरी महानिरीक्षक (आईजीपी)को जिम्मेवारी एआईजीपी निरजबहादुर शाहीले पाएपछि अर्का एआईजीपी हरिबहादुर पाललाई तनाब भएको छ ।

विगतको परम्पराअनुसार आईजीपी शैलेन्द्र थापा क्षेत्रीले आईजीपीको सचिवालयका वरिष्ठ एआईजीपीलाई कार्यबाहक आईजीपीको जिम्मेवारी दिएर इन्टरपोलको कार्यक्रममा भाग लिन आइबार टर्की प्रस्थान गरेका छन् ।

एआईजीपी पाल महानगरीय प्रहरी रानीपोखरीको प्रमुख छन् । आफूले निमित्त प्रहरी आईजीपीको जिम्मेवारी नपाएको भन्दै पाल रिसले ‘बमबम’ भएका छन् ।

एआईजीपी शाही तेस्रो वरीयताका एआईजीपी भए पनि आईजीपीको सचिवालयमा भने शाही नै वरिष्ठ एआईजीपी हुन् ।

शाहीले निमित्तको जिम्मा पाएपछि असन्तुष्ट बनेका एआईजीपी पाल विदामा बसेका छन् ।

असन्तुष्ट भएका पाल प्रहरी महानिरीक्षक क्षेत्रीलाई विदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि गएनन् ।

प्रहरी प्रमुख लामो यात्रामा निस्किंदा बरिष्ठतम अधिकृतहरु विदाई कार्यक्रममा सहभागी हुने प्रचलन छ ।

एआईजीपी पाल विदामा रहेकाले कार्यवाहकको जिम्मा नपाएको चर्चा पनि छ ।

आईजीपी क्षेत्री इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा मंसिर ७ देखि ९ गतेसम्म इन्टरपोलको ८९औं महासभामा हुनेछन् ।

आईजीपी क्षेत्रीसँग महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान पनि टर्की प्रस्थान गरेका छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईजीपी क्षेत्रीलाई विदाइ गरेका छन् । आफ्नै हाकिमको विदाइमा नगएर पालले प्रहरी संगठनको चेनअफ कमाण्ड तोडेको आरोप पनि छ ।

आईजीपी क्षेत्रीलाई हटाएर आफू आईजीपी बन्ने खेलमा लागेका पालको सबै योजनाहरू तुहिएको छ । पाल अबको केही महिनाभित्र उमेर हदका कारण अनिर्वाय अवकासमा जानेछन् ।

नेपाली कांग्रेस नेतृत्वको अहिलेको सरकारलाई सहयोग गर्नेभन्दा पनि एआईजीपी पालले विभिन्न बखेडा झिकेर विवाद सिर्जना गरेको आरोप छ ।

कुमार पौडेलको ‘फेक’ इन्काउन्टरको अभियोगमा एआईजीपी पालविरुद्ध सर्लाही प्रहरीमा जाहेरी दर्ता छ । पाललाई पक्राउ गरेर थुनामा राखेर अनुसन्धान अगाडि बढाउन दवाव छ ।

राजनीतिक पावर लगाएर पालले अनुसन्धानलाई प्रभावित तुल्याउँदै आएका छन् । मेट्रमा पनि पालको समयावधि समाप्त भइसकेको छ । तर, पालले पावर लगाएर मेट्रमो अड्डा जमाएर बसेका छन् ।

Published : Sunday, 2021 November 21, 2:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया