दाङ कांग्रेसमा ६ मध्ये ५ वटा सभापति देउवा समूहको, पौडेल–कोइराला समूहले चक्मा खायो

घोराही । दाङ जिल्लामा नेपाली कांग्रेसको ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

दाङको निर्वाचन क्षेत्र नं. १ ‘क’को सभापतिमा श्रीपत् चौधरी निर्वाचित भएका छन् । ‘ख’मा दिनेश गिरी निर्वाचित भएका छन् ।

सभापतिमा निर्वाचित चौधरी र गिरी सभापति शेरबहादुर देउवा निकटको रहेको क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिए ।

‘कसैको जात वा थर मिल्दैमा अर्को समूहले जित्यो भन्न पाइँदैन’, क्षेत्रीय सभापति पाण्डेले भने, ‘दाङको क्षेत्र नं. १ मा दुई प्रदेश सभा निर्वाचनमा सभापतिसहित पदाधिकारी र प्रतिनिधिहरू देउवा समूहले जितेका छौँ ।’

कांग्रेसका नेता जानकीलाल बस्नेतले पनि दाङको क्षेत्र नं. १ मा दुबै प्रदेश सभाको सभापतिमा देउवा समूहले जितेको दाबी गरेका छन् । बस्नेतले समाचार सम्प्रेषण गर्दा भ्रम पर्ने गरेर नलेख्न अनुरोध गरेका छन् ।

क्षेत्र नं. २ को ‘क’को सभापतिमा प्रकाश श्रेष्ठ र ‘ख’को सभापति अभियान बस्नेत निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित श्रेष्ठ सभापति देउवा निकटको रहेको पूर्वसांसद राजु खनालले जानकारी दिए ।

सभापति बस्नेतले रामचन्द्र पौडेल र शशांक कोइराला समूहको समर्थनमा जितेको दाङ कांग्रेसमा चर्चा छ । सभापति बस्नेतलाई केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेको समर्थनमा विजयी बनाइएको चर्चा छ । घिमिरे सभापति देउवा निकटका मानिन्छन् ।

क्षेत्र नं. २ को ‘क’ र ‘ख’ सभापतिसहित दुई जना प्रतितिनिधि बाहेक सबै प्रतिनिधि देउवा समूहबाट निर्वाचित भएको दाबी गरिएको छ ।

दाङको क्षेत्र नं. ३ को ‘क’को सभापतिमा केन्द्रीय सदस्य दीपक गिरी निकट मानिने देवेन्द्र रिजाल निर्वाचित भएका छन् । ‘ख’मा लुम्बिनी प्रदेशका मन्त्री समेत रहेका कांग्रेस नेता डिल्लीबहादुर चौधरी निकट मानिने खिमबहादुर ओलीले सभापतिमा जितेका छन् ।

दाङ क्षेत्र नं. ३ मा नेताद्वय गिरी र चौधरी मिलेर निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन् । दाङको क्षेत्र नं. ३ मा केन्द्रीय सदस्य गिरी र प्रदेशमन्त्री चौधरीले एकअर्कालाई क्रस गरेर जाने अवस्था छैन ।

Published : Sunday, 2021 November 21, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया