कांग्रेस सभापतिमा गाउँपालिकाकै अध्यक्ष पराजित, कैलालीमा देउवा समूह बलियो

धनगढी । कैलाली जिल्लामा जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरी नेपाली कांग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्रको सभापतिमा पराजित भएका छन् ।

निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ मा चौधरी सभापतिमा पराजित भएका हुन् । जोशीलाई परशुुराम महतो कठरियाले पराजित गरेका छन् ।

कांग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारले गाउँपालिकाका अध्यक्ष चौधरीले ८८ मत प्राप्त गरेको बताए । सभापतिमा निर्वाचित कठरियाले १४७ मत ल्याएका थिए ।

सभापतिमा पराजित भएका अध्यक्ष चौधरी नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । सभापतिमा निर्वाचित कठरिया सभापति शेरबहादुर देउवा निकटका हुन् ।

कांग्रेसले कैलालीका प्रदेश सभाका १० वटै निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरेको छ ।

निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’मा परशुराम महतो कठरिया, प्रदेश सभा ‘ख’मा बलीराम चौधरी, निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा ‘क’को सभापतिमा भीम जैशी, प्रदेश सभा ‘ख’मा तेजप्रकाश मल्ल निर्वाचित भएका छन् ।

निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा ‘क’मा रामप्रसाद चौधरी र प्रदेश सभा ‘ख’मा कमलराज चौधरी सभापतिमा निर्वाचित भएका छन् ।

निर्वाचन क्षेत्र नं. ४ को प्रदेश सभा ‘क’ को सभापतिमा काशिराम शर्मा र प्रदेश सभा ‘ख’मा गोपालदत्त भट्ट निर्वाचित भएका छन् ।

निर्वाचन क्षेत्र नं. ५ को प्रदेश सभा ‘क’को सभापतिमा सीताराम राना र प्रदेश सभा ‘ख’को सभापतिमा केशव जोशी निर्वाचित भएको प्रचार–प्रसार समितिका संयोजक सुनारले जानकारी दिएका छन् । कैलाली जिल्लामा देउवा समूह बलियो देखिएको छ ।

Published : Sunday, 2021 November 21, 8:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया