पौडेल–कोइराला–सिंहबीच सहमति भएन, यस्तो थियो प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शशांक कोइरालाबीच भेटवार्ता भएको छ ।

शनिबार भएको तीन नेताहरूबीचको भेटवार्तामा सभापति पदमा सबैले आ–आफ्नो अडान कायम राखेका छन् । सिंह र कोइरालाले पौडेललाई सभापतिमा दाबी नगर्न सुझाव दिएका छन् ।

नेता सिंहका अनुसार आफू र महामन्त्री कोइरालाले दुईजना मिलेर अघि बढ्न चाहेको भन्दै पौडेललाई अभिभावक भएर बसिदिन आग्रह गरेको बताए ।

तीन नेताहरूबीच पौडेललाई राष्ट्रपति तथा सिंह र कोइरालालाई प्रधानमन्त्री तथा सभापतिमध्ये एक पद बाँडेर जाने विषयमा कुराकानी भए पनि सहमति हुन नसकेको हो । सभापतिमा कुनै पनि नेताले अडान नछाडेपछि उठेर हिँडेका थिए ।

सिंह र कोइरालाको प्रस्तावलाई पौडेलले सिधै अस्वीकार गरिदिएका छन् । पौडेलले पनि आफूलाई सभापतिमा साथ दिन सिंह र कोइरालासँग आग्रह गरेका थिए ।

पौडेललाई १३औँ महाधिवेशनमा सहयोग गरेको बताएका नेता सिंहले भने, ‘तपाईंले अवसर पाएर पनि मिलाउन सक्नुभएन, अहिले झन् कसरी सक्नुहुन्छ र ?’

रामचन्द्र पौडेलबाट पनि पार्टी नचल्ने भन्दै नेता सिंहले सभापतिमा आफूलाई साथ दिन आग्रह गरेको बताएका छन् ।

भेटवार्तामा नेता सिंहसँग महामन्त्री कोइरालाले आफूले चित्त दुखाउने गरेर कुनै पनि कुरा नगरेको बताएका थिए ।

Published : Saturday, 2021 November 20, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया