नुवाकोट कांग्रेसमा ‘केसी ग्याङ’को चुरीफुरी समाप्त, महत समूहको शानदार जित

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा केसी समूह नराम्रोसँग पराजित भएको छ ।

नुवाकोटमा महत समूहले प्रदेश निर्वाचन क्षेत्रमा जित हासिल गरेर शानदार उपस्थिति जनाएको छ । नुवाकोटमा यस पटक केसी समूहले नराम्रोसँग झट्का खाएको छ ।

नुवाकोट निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ को सभापतिमा सुशील खड्का विजयी भएका छन् । खड्कालाई कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतको समर्थन थियो ।

‘क’को सभापतिमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आफ्ना स्वकीय सचिव सरोज केसीलाई उम्मेदवार बनाएका थिए ।

प्रदेश सभा ‘ख’को सभापतिमा रामजी पौडेल विजयी भएका छन् । पौडेललाई सह–महामन्त्री महतको समर्थन थियो ।

केसी समूहका सभापतिका उम्मेदवार ऋषिकुमार तामाङ पराजित भएका छन् ।

नुवाकोट क्षेत्र नं. २ को प्रदेश सभा ‘ख’को केन्द्रीय सदस्य बहादुरसिंह लामा समर्थक गणेशमान तामाङ निर्वाचित भएका छन् । तामाङलाई महत समूहको पनि समर्थन थियो ।

केसी समूहबाट सभापतिमा उम्मेदवार बनेका आतमसिंह तामाङ पराजित भएका छन् ।

नुवाकोट क्षेत्र नं. २ को प्रदेश सभा ‘क’को सभापतिमा बैकुण्ठबहादुर पाण्डे विजयी भएका छन् । पाण्डेलाई महत समूहको समर्थन थियो । केसी समूहका सभापतिका उम्मेदवार अक्कलवहादुर ढुङ्गाना ‘श्याम’ पराजित भएका छन् ।

नुवाकोट जिल्लाको अधिवेशनमा सह–महामन्त्री डा.प्रकाशशरण महत र केन्द्रीय सदस्य बहादुरसिंह लामा मिलेका थिए । उनीहरूको तालमेल मिल्दा केसी समूहको पत्तासाफ भएको छ ।

नुवाकोट जिल्लामा केसी समूहले सधैँ लफडा गरेका कारण कांग्रेस कमजोर छ । केन्द्रमा पनि केसी समूहले अनावश्यक बखेडा गर्ने गरेको छ ।

सभापति जगदीश्वर नरसिंह केसीले जहिले पनि सभापतिको गुटको भेला गरेर केन्द्रीय नेतृत्वको आलोचना गर्दै आएका थिए ।

सभापति केसीलाई आफ्नै जिल्लाका कार्यकर्ताले पाठ सिकाएका छन् । सभापतिको उम्मेदवार हुँभन्दै हिँडेका अर्जुननरसिंह केसीलाई आफ्नै जिल्ला नुवाकोटले सबक सिकाएको छ ।

Published : Saturday, 2021 November 20, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया