तनहुँमा देउवा समूहको कब्जा, रामचन्द्रले अधिकांश स्थान गुमाए

दमौली । तनहुँ जिल्लामा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको समूहको अधिकांश स्थानमा पराजय भएको छ ।

सभापति शेरबहादुर देउवा समूहले तनहुँ कांग्रेसमा अधिवेशनका बेला बर्चश्व बनाएको छ । सभापतिमा उम्मेदवार बन्छु भनेर उत्पात मच्चाउँदै आएका पौडेल गृहजिल्ला तनहुँमा कमजोर बनेका छन् ।

वडा, पालिका र प्रदेश क्षेत्रका अधिवेशन सम्पन्न भएका छन् । अधिवेशनबाट निर्वाचित पदाधिकारी र चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणामलाई हेर्दा पौडेल समूहको उपस्थिति कमजोर रहेको छ ।

तनहुँको निर्वाचन क्षेत्र नं. २ को ‘क’ र ‘ख’मा देउवा समूहले कब्जा जमाएको छ । २ को ‘ख’को सभापतिमा इन्द्रबहादुर आलेको नेतृत्व सर्वसम्मत चयन भएको छ ।

२ को ‘क’मा पनि देउवा समूहको प्यानल निर्वाचित भएको छ । २ को ‘क’को सभापतिमा जितराज राना विजयी भएका छन् । रानाले २३८ मत प्राप्त गरेका थिए ।

सभापतिका प्रतिस्पर्धी हीराबहादुर थापाले १८१ मत प्राप्त गरेर पराजित भएका छन् । थापालाई पौडेल समूहको समर्थन थियो ।

निर्वाचन क्षेत्र नम्बर १ ‘क’को सभापतिमा विश्वेश्वर खनाल र क्षेत्र नम्बर १ ‘ख’को सभापतिमा काजीमान श्रेष्ठ निर्वाचित भएका छन् । यी दुवै उम्मेदवार पौडेल पक्षधर हुन् ।

देउवा समूहबाट ‘क’को सभापतिमा शेष मोहम्मद हनिफ ‘गोरा मियाँ’ पराजित भएका छन् । मियाँलाई केन्द्रीय सदस्यहरू शंकर भण्डारी, गोविन्द भट्टराई र आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको समर्थन थियो ।

खनाललाई जिल्ला सभापति बैकुण्ठ न्यौपाने र केन्द्रीय सदस्य प्रदीप पौडेलको प्यानलका उम्मेदवार हुन् ।

क्षेत्र नम्बर १ ‘ख’को सभापतिमा काजीमान श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठलाई नेता पौडेलको समर्थन थियो । देउवा समूहका सभापति राजेन्द्र पिया पराजित भएका छन् ।

क्षेत्र नम्बर १ वरिष्ठ नेता पौडेलको निर्वाचन क्षेत्र हो । जिल्ला सभापति न्यौपाने र केन्द्रीय सदस्य प्रदीप पौडेलले रामचन्द्र पौडेलसँग मिलेर प्यानल बनाएका थिए ।

तनहुँ जिल्लामा केन्द्रीय सदस्यहरू शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुब वाग्लेसहितका नेताहरू १४औँ महाधिवेशनबाट उदाएका छन् ।

उनीहरूले तनहुँमा आफूहरूलाई जबरजस्त रुपमा अगाडि ल्याएका छन् । सभापतिको दाबी गर्दै आएका र बखेडा झिक्दै आएका रामचन्द्र पौडेलले आफ्नै गृहजिल्लामा पकड गुमाएका छन् ।

Published : Saturday, 2021 November 20, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया