मकवानपुर कांग्रेसमा पौडेल समूहको पत्तासाफ, डीना–इन्द्रको जादु चल्यो

हेटौँडा । मकवानपुर जिल्लामा नेपाली कांग्रेसको अधिवेशनमा सभापति शेरबहादुर देउवा निकटको समूहले शानदार जित हासिल गरेको छ ।

केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’ र कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको समर्थनमा उम्मेदवार बनेकाहरूले जित हासिल गरेका हुन् । प्रदेशतर्फको चार वटा क्षेत्रमा देउवा समूहका सभापतिहरू निर्वाचित भएका छन् । नेता रामचन्द्र पौडेल समूहको नराम्रोसँग पराजय भएको छ ।

निर्वाचनबाट प्रत्येक क्षेत्रमा कार्यसमितिसहित २५ जना प्रदेश प्रतिनिधि पनि छनोट भएका छन् ।

मकवानपुरको ४ क्षेत्रमध्ये तीन स्थानमा प्यानलसहित निर्वाचन प्रक्रिया भएको थियो । एक जना सभापति निर्विरोध भएका छन् ।

मकवानपुर प्रतिनिधिसभाको क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ मा सुशान्तकुमार श्रेष्ठ निर्विरोध भएका छन् । उप–सभापतिमा कमलाकुमारी वाइवा र गोपालबहादुर न्यासुर चयन भएका छन् ।

सचिवमा भूमिनन्द गौतम र शंकर पराजुली तथा सहसचिवमा दीपक ढकाल र अमर सोराइली निर्विरोध चयन भएका हुन् ।

मकवानपुर प्रतिनिधिसभाको क्षेत्र नं. १ ‘ख’ मा राजेश बानियाँको प्यानल विजयी भएको छ । सभापतिमा बानियाँले १७७ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धी रमेशध्वज कार्कीले ८३ मत पाएका थिए ।

उप–सभापतिमा विनोद शर्माले १६० र शुक्रराज जोशीले १५६ मत ल्याएर विजयी भएका छन् ।

सचिवमा गोकर्ण सुवेदीले १८० र प्रदीप कँडेलले १९२ मत ल्याएर विजयी भएका छन् । सह–सचिवमा केदारप्रसाद ढोडारीले १८८ र सानो कान्छा दोङले १९६ मत ल्याएर विजयी भएका छन् ।

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं. २ को ‘क’ को सभापतिमा खड्गबहादुर गोपाली निर्वाचित भएका छन् । गोपालीले सभापतिका अर्का प्रतिस्पर्धी सुजन गोपालीलाई पराजित गरेका हुन् ।

उप–सभापतिमा ईश्वरी शाही ठकुरी र रञ्जन कठायत विजयी भएका छन् । सचिवमा नरहरि गोपाली र राजेशबाबु सापकोटा विजयी भएका छन् । सह–सचिवमा रामशरण गोपाली र समिता रसाइली विजयी भएको मकवानपुर कांग्रेसका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।

मकवानपुर प्रतिनिधिसभा–२ को ‘ख’को सभापतिमा रञ्जन कालाखेती निर्वाचित भएका छन् । कालाखेतीसँग रामकृष्ण प्रजा पराजित भएका छन् ।

कालाखेतीले २९२ मत र प्रजाले २२३ मत पाएका थिए । उप–सभापतिमा भुवन नेगी र रामकुमार वाल्पा थिङ विजयी भएका छन् ।

सचिवमा नवराज पौडेल र कृष्ण योञ्जन विजयी हुँदा सह–सचिवमा गोपिलाल थिङ र शालिकराम अधिकारी विजयी भएका छन् ।

मकवानपुर जिल्लामा पौडेल समूहले नराम्रोसँग पराजय भोग्नुपरेको छ । देउवालाई गाली गरेर हैरान गर्दै आएको पौडेल समूह अधिकांश जिल्लामा मकवानपुरको अवस्था झेल्न बाध्य भएको छ ।

Published : Saturday, 2021 November 20, 6:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया