सकिन्छ भने सहमतिमा नेतृत्व चयन गरौँ : सह–महामन्त्री डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनपछि पार्टीको समग्र ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।

काठमाडौं– ५ को प्रदेश “क” र “ख”का प्रदेश सभा क्षेत्रीय अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै डा.महतले आगामी निर्वाचनमा कांग्रेसले जित्ने बताए । उनले महाधिवेशनबाट प्राप्त हुने उर्जालाई निर्वाचनमा केन्द्रित बनाउनुपर्ने बताए ।

डा.महतले पार्टीको आन्तरिक निर्वाचनमा भरसक सहमतिमा नेतृत्व चयन भए अझ राम्रो हुने बताएका छन् । उनले भने, ‘पार्टीको अधिवेशन हो । नेतृत्वका लागि हामीबीच प्रतिस्पर्धा भैरहेको छ ।’

‘हामीले निर्वाचनमा वास्तविक प्रतिस्पर्धा त अन्य राजनीतिक दलसंग गर्नुपर्दछ’, उनले भने, ‘तसर्थ निर्वाचनमा सहभागी हुने सम्पूर्ण साथीहरू लगायत निर्वाचित हुने प्रदेश समितिले आफ्नो सम्पूर्ण ध्यान आउने निर्वाचनमा पार्टीलाई जिताउन लगाउनुपर्छ ।’

सह–महामन्त्री डा.महतले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई खेलको नियम सरह सहज रुपमा लिन आग्रह गरे ।

‘निर्वाचनको परिणाम आएपछि पनि प्रतिस्पर्धी साथीहरूबीच रहेको सद्भाव र एकता पूर्ववत् रहनुपर्दछ’, उनले भने, ‘अझ सौहार्द र घनिष्ठ बन्नुपर्दछ । यो निर्वाचनको नतिजा आएपछि कुनै तिक्तता र रिक्तता नरहोस् ।’

उनले महाधिवेशनका क्रममा कांग्रेसका क्रियाशील सदस्य, भातृसंगठनका सदस्य, शुभेच्छुक, समर्थक र मतदाताहरूमा देखिएको उत्साहलाई पार्टीको उर्जाको रुपमा लिएको बताए ।

Published : Friday, 2021 November 19, 12:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया