अब जबराले जे गर्ने ७२ घण्टाभित्रै गर्ने, अन्यथा बबाल हुने

काठमाडौं । कडा आन्दोलनमा रहेको नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेर अल्टिमेटम समेत दिएपछि तनाबको स्थिति उत्पन्न भएको छ ।

बारले प्रधानन्याधीश जबरा उपस्थित हुने कुनै पनि कार्यक्रममा बारको सहभागिता नरहने निर्णय गरेपछि स्थितिले तनाबपूर्ण अवस्था निम्त्याएको हो ।

बारले जबरालाई प्रधानन्यायाधीश पदबाट शुक्रबारसम्म राजीनामा दिन अल्टिमेटम दिएर कडा रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रधानन्यायाधीश जबराले कुर्सी बचाउन भाडाका प्रदर्शनकारी ल्याएर आफ्नो समर्थनमा नाराबाजी गराएको आरोप लागेका बेला बारको यो निर्णय र अल्टिमेटमले जबरालाई तनाब भएको छ । विवादित छविका जबराका फैसला र उनका हर्कतलाई लिएर बारले निरन्तर आन्दोलन गरिरहेको छ ।

बारकी उपाध्यक्ष रक्षा बस्यालले मंसिर ३ गते शुक्रवारसम्म प्रधानन्यायाधीशको राजीनामा नआएमा १८ वटै उच्च अदालतमा केन्द्रीय प्रतिनिधि समेत खटाई बृहत् विरोध कार्यक्रम गर्ने निर्णय गरेको बताएकी छिन् ।

बारले शुक्रवार संसदमा रहेका सबै राजनीतिक दलहरूको संसदीय दलमा ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउनेछ । प्रधानन्यायाधीश बाहेकको संवैधानिक परिषदको बैठक बोलाउन प्रधानमन्त्रीलाई अनुरोध गर्ने बारले निर्णय गरेको छ ।

बारले प्रधानन्यायाधीश जबरा सम्मिलित इजलासमा भएका विवादित फैसला सङ्कलनका लागि आह्वान गर्ने र त्यसका लागि अध्ययन गर्ने पनि निर्णय गरेको छ ।

केही न्यायाधीशहरू इजलासमा फर्किएका छन् । ती न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरणलगायत तामेली, आदेश गर्नुपर्ने खाले मुद्दाहरू मात्रै हेरेको बस्यालले बताएकी छिन् ।

राजीनामा नदिने अडान राख्दै आएका प्रधानन्यायाधीश जबराले सोमवार विज्ञप्तिमार्फत् बारलाई संवादका लागि आह्वान गरेका थिए ।

प्रधानन्यायाधीश जबरामाथि यतिबेला राजीनामा दिन दबाव परेको देखिएको छ । मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्ने विषयले चर्चा पाएपछि उनको आलोचना हुन थालेको हो ।

ओमप्रकाश मिश्र सेवानिवृत्त भएपछि २०७५ को पुस महिनामा जबरा प्रधानन्यायाधीश बनेका थिए ।

Published : Wednesday, 2021 November 17, 7:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया