कांग्रेसमा महाधिवेशन प्रतिनिधिका लागि कति शुल्क ? कुन पदमा कति खर्च ?

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उदघाटनभन्दा पहिला उम्मेदवारी दर्ता गर्नुपर्ने भएको छ ।

तीनदिन पहिले कांग्रेसका नेताहरूले उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन गर्ने कार्यक्रम छ ।

मंसिर २१ गते उम्मेदवारका आकांक्षीहरूले मनोनयन दर्ता गर्नुपर्नेछ । कांग्रेसले बन्द सत्र हुनेछैन ।

कांग्रेसमा एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री, आठ सह–महामन्त्री र केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ । कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था छ ।

१६८ केन्द्रीय सदस्यमध्ये ३३ जनाबाहेक अरू चुनावबाट नै आउने व्यवस्था छ । पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारहरूले मंसिर २१ मै मनोनयन दर्ता गर्नुपर्छ ।

मंसिर १६ र १७ मा प्रदेश अधिवेशन हुन्छ । मंसिर २४ मा महाधिवेशन उद्घाटन गर्नुभन्दा पहिले २१ गते नै उम्मेदवारी मनोनयन दर्ता हुन्छ ।

कांग्रेसले नीति र नेतृत्व महाधिवेशन फरक–फरक गर्ने निर्णय गरेको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

केन्द्रीय सभापति पदको निर्वाचनका लागि उम्मेदवार हुनेले ३० हजार रूपियाँ शुल्क तिर्नुपर्नेछ ।

उप–सभापति र महामन्त्रीका लागि २५ हजार, सह–महामन्त्रीका लागि २० हजार दस्तुर लाग्नेछ ।

केन्द्रीय सदस्यको निर्वाचनका लागि भाग लिन १० हजार रूपियाँ शुल्क बुझाउनुपर्नेछ ।

प्रदेश महाधिवेशन प्रतिनिधिका लागि तीन हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि पाँच हजार शुल्क तोकिएको छ ।

केन्द्रीय महासमिति सदस्य पदको निर्वाचनका लागि सात हजार रूपियाँ शुल्क लाग्ने निर्वाचन समितिले जनाएको छ ।

प्रदेश सभापति पदका लागि १५ हजार, उप–सभापति, महामन्त्री र सह–महामन्त्री उम्मेदवारले ११ हजार शुल्क तिर्नुपर्नेछ । सदस्यका लागि पाँच हजार शुल्क तिर्नुपर्छ ।

जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई १० हजार, उप–सभापति र सचिवका लागि सात हजार, सह–सचिवका लागि छ हजार शुल्क तोकिएको छ ।

जिल्ला सदस्यका लागि तीन हजार शुल्क लाग्नेछ । कांग्रेसले उम्मेदवारबाट उठाउने शुल्क महाधिवेशनमा खर्च गर्नेछ । बचेको पैसा पार्टीको खातामा रहनेछ ।

Published : Monday, 2021 November 15, 5:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया