कांग्रेसको नेतृत्व युवापुस्तालाई हस्तान्तरण गर्न रामचन्द्रद्वारा अस्वीकार

सिन्धुली । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले कांग्रेसमा पुस्तान्तरण नभएर रुपान्तरण जरुरी भएको बताएका छन् ।

सिन्धुपलीमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेतृत्व पुस्तान्तरण नभएर कांग्रेसमा रुपान्तरण जरुरी भएको बताएका हुन् । उनले कसैले चाहँदैमा नेतृत्व पुस्तान्तरण नहुने बताए ।

युवापुस्तामा नेतृत्व हस्तान्तरणको माग भइरहेको बेला नेता पौडेलले युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्न नसकिने सन्देश दिएका छन् ।

पौडेलले कांग्रेसलाई नयाँ बाटोमा नयाँ उर्जा दिएर आफू सफल बनाउने बताएका छन् ।

उनले महाधिवेशन हुने पक्का भएको भन्दै सभापति पदको लागि सरसल्लाह भैरहेको बताए । प्रकाशमान सिंहले शेरबहादुर देउवा र रामचन्द्र पौडेलबाट पार्टी चल्न नसक्ने भनेर दिएको अभिव्यक्तिलाई पौडेलले हल्का टिप्पणी भनेर टारिदिएका छन् । महाधिवेशनका बेला घोचपेच हुने उनले बताएका छन् ।

निर्वाचनका बेला केही साथीहरूले अब आफ्नो पालो भन्दै हिँडेको कुरालाई आफूले महत्व नदिएको पौडेलको बताए ।

प्रकाशमान सिंहले ‘रामचन्द्र पौडेल र शेरबहादुर देउवा मिति नाघेको औषधि भएकाले अब सभापतिमा मेरो पालो’ भएको बताएका थिए ।

‘चुनावका बेला त्यस्ता लटरपटर केही कुरा आउँछन्’, पौडेलले भने, ‘म त्यस्ता कुरालाई महत्व दिन्नँ । माइन्ड गर्दिँन ।’

पौडेलले आगामी चुनावमा गठबन्धन कायम रहनसक्नेप्रति संकेत गर्दै संघीयता र समानुपातिकले गर्दा दलहरूलाई बहुमत ल्याउन गार्‍हो पर्ने भएकाले परिस्थिती अनुसार चल्ने बताएका छन् ।

पौडेलले कांग्रेसले मात्र राष्ट्र र लोकतन्त्रलाई जोगाउन सक्ने बताउँदै अन्य सबै दलहरू अवसरवादी भएको बताएका छन् ।

Published : Monday, 2021 November 15, 4:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया