पौडेल समूहबाट अचानक सभापति र महामन्त्रीमा उम्मेदवारी घोषणा, लुम्बिनीमा खैलाबैला

घोराही । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले लुम्बिनी प्रदेशमा सभापतिका लागि अमरसिंह पुनलाई अगाडि सारेको छ ।

दाङको घोराहीमा मंगलबार आयोजित कांग्रेसको कार्यक्रममा पौडेल समूह निकट मानिने रोल्पा कांग्रेसका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशको सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । नेता पुनले आफूलाई पौडेल समूहको समर्थन रहेको दाबी गरेका छन् ।

रोल्पा कांग्रेसमा दुई पटक सभापति बनिसकेका पुनले लुम्बिनी प्रदेशमा सभापतिमा दाबी गरे पनि पौडेल समूहले केही भनेको छैन । पौडेल समूहबाट बर्दिया कांग्रेसका सभापति सञ्जयकुमार गौतमले पनि लुम्बिनी प्रदेश कांग्रेसको सभापतिमा दाबी गर्दै आएका छन् ।

पौडेल समूहभित्र भाँडभैलो भइरहेका बेला नेता पुनले सभापतिमा आफ्नो उम्मेदवारी घोराहीबाट औपचारिक रुपमा घोषणा गरेर सबैलाई चकित तुल्याइदिएका छन् । पुनले रोल्पा कांग्रेसमा लामो समय नेतृत्व गरेका छन् ।

माओवादीको कथित सशस्त्र द्वन्द्वका बेला पुनले रोल्पामा कांग्रेसलाई बचाउन भूमिका खेलेका थिए । माओवादी द्वन्द्वका कारण रोल्पाबाट विस्थापित भएका नेता पुनले काठमाडौंको बुढानिलकण्ठमा भव्य भवन पनि बनाएका छन् ।

रोल्पा कांग्रेसका सभापति पुन रोल्पामा भन्दा पनि धेरै काठमाडौंमा बस्दै आएका छन् ।

रोल्पामा आफ्नो गुटलाई मात्रै अगाडि बढाएका सभापति पुनले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी सञ्चालन गरेको आरोप पनि कार्यक्रममा लगाएका थिए । पुनले देउवालाई डडेल्धुरामा कांग्रेसलाई कब्जा गरेको आरोप पनि लगाएका थिए ।

सभापति पुनले रोल्पामा आफूले कांग्रेसलाई कब्जा गरेर आफ्ना विरोधी समूहलाई ठेगान लगाएको कुरा भने भुलेका छन् । पुनले रोल्पामा देउवा समूहका नेता कार्यकर्तालाई प्रतिनिधि आउन पनि दिएका छैनन् ।

सभापति पुनले रोल्पामा गरेको हर्कतको विरोध हुँदै आएको छ । पुनको दादागिरि रोल्पामा रहे पनि लुम्बिनी प्रदेशको चुनावमा पेलानमा परेका नेता कार्यकर्ताले औकात देखाइदिने भएका छन् ।

कार्यक्रममा पौडेल समूहबाट लुम्बिनी प्रदेशको महामन्त्रीमा कपिलवस्तुका सभापति सुरेन्द्र आचार्यले उम्मेदवारी घोषणा गरेका थिए । आचार्यले पुनले जस्तो उग्र कुरा गरेका थिएनन् । आचार्यले कांग्रेसलाई बचाउन सबै मिलेर जाने बताएका थिए ।

Published : Tuesday, 2021 November 9, 11:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया