ललितपुरको गोदावरीमा कांग्रेस नेतृहरूले गरे कमाल, बालुवाटारमा ठूलो प्रशंसा

चापागाउँ । ललितपुर जिल्लामा एमाले, माओवादी केन्द्र र राप्रपाका दुई सय पचासभन्दा धेरै स्थानीय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस गोदावरी नगरपालिका नगर कार्यसमितिको वडा नं. १३ ले मंगलबार झरुवारासीको फूलबारी पार्टी प्यालेसमा आयोजना गरेको दीपावली, छठ र नेपाल सम्वतको शुभकामना आदान—प्रदान कार्यक्रममा विभिन्न दल परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

गोदावरी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष तथा राप्रपाका केन्द्रीय नेता नीलबहादुर देसारसहित अन्य पार्टीका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको खेलकुद विभागका सचिव एवम् कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले जानकारी दिए ।

नवप्रवेशीहरूलाई केन्द्रीय सदस्य एनपी साउद, पूर्व राज्यमन्त्री गोविन्दबहादुर शाह, पूर्व राज्यमन्त्री उदयशम्शेर राणा, ललितपुर जिल्लाका सभापति मदनबहादुर अमात्य, प्रदेश सांसद विजया केसी, नेपाली कांग्रेस खेलकुद विभाग केन्द्रीय सचिव तथा युवा नेता मीनकृष्ण महर्जनलगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।

कांग्रेसका नेताहरूले नवप्रवेशीहरूलाई पार्टीमा अन्याय हुन नदिने र क्षमताअनुसार जिम्मेवारी दिने आश्वासन दिएका छन् । कम्युनिस्टको हर्कतबाट जनताहरू दिक्क भएका बेला गोदावरी नगरपालिकामा पनि विभिन्न दल परित्याग गरेर कांग्रेस प्रवेश गर्नेहरूको बाक्लो उपस्थिति रहेको छ ।

कार्यक्रममा पूर्व सांसद रामकृष्ण चित्रकार, महासमिति सदस्यहरु जितेन्द्रकुमार श्रेष्ठ, नेता ऋषिराम घिमिरे, मथुराप्रसाद घिमिरे, क्षेत्रीय सभापति राजन घिमिरे, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायतले शुभकामना दिएका थिए ।

शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस गोदावरी नगरपालिका नगरसमितिका अध्यक्ष प्रदीप जोशीले गरेका थिए ।

अतिथिहरूमा ललितपुर महानगरपालिकाकी उप–मेयर गीता सत्याल, गोदावरी नगरपालिकाकी उप–मेयर मुना अधिकारीलगायत जिल्लास्तरीय नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

एमाले, माओवादी र राप्रपासहितका दलहरूका नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउन ठूलो भूमिका खेल्नेहरूमा कांग्रेस नेतृ एवम् गोदावरी नगरपालिकाकी उप–मेयर मुना अधिकारी र कांग्रेस नेतृ एवम् नेपाल सहकारी बंैक सञ्चालक सन्तानेश्वर नौधारा सहकारी संस्थाकी अध्यक्ष शशि खड्काको विशेष योदान रहेको थियो ।

नवप्रवेशीहरूमा अधिकांश महिला नेता कार्यकर्ता छन् । महिला नेतृद्वय अधिकारी र खड्काले पार्टी प्रवेशमा गरेको योदानको बालुवाटारमा समेत चर्चा भएको छ ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस गोदावरी कार्य समितिका उप–सभापति राजेशध्वज कार्कीले पनि विशेष भूमिका निर्वाह गरेका थिए ।

ललितपुर जिल्लामा कांग्रेसका युवा नेताहरूको दब्दबा रहेका बेला एमाले, माओवादीसहित विभिन्न दलका नेता कार्यकर्ताले पार्टी परित्याग गरेर कांग्रेसमा धमाधम प्रवेश गरिरहेका छन् ।

एक दिन अगाडि मात्रै ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा एमालेका पूर्वगाविसि अध्यक्षसहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

ललितपुरका सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कम्युनिस्टले जितेका छन् । तर, उनीहरूले विकासका नाममा सिन्को पनि भाँचेका छैनन् ।

झुठको खेती गरेर जनतालाई झुक्काएर निर्वाचन जितेका सांसदहरूबाट दिक्क भएका एमाले र माओवादीका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Tuesday, 2021 November 2, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया