कांग्रेसलाई होच्याएको ‘श्राप’ एमालेलाई लागेरै छाड्यो, बल्ल ओलीको पसिना छुट्यो

काठमाडौं । झण्डै दुईतिहाइ बहुमत पाएका एमालेका अध्यक्ष खड्गप्रसाद ओली र उनको दल सोमबारदेखि सत्ताबाहिर पुगेको छ ।

ओलीको अहँकार र घमण्डले गर्दा केन्द्र सरकार र प्रदेश सरकारहरूबाट एमाले सत्ताच्युत भएको छ । एमाले अब सबै प्रदेशमा प्रतिपक्षमा रहनेछ । केन्द्र सरकारमा यसअघि नै प्रमुख प्रतिपक्षको सिटमा पुगिसकेको छ ।

प्रदेश १ को मुख्यमन्त्रीबाट भीमप्रसाद आचार्यले राजीनामा दिएसँगै एमाले सबै प्रदेशमा प्रतिपक्षी बनेको छ ।

२०७४ को निर्वाचनपछि एमालेले ४ प्रदेशसहित संघीय सरकारको नेतृत्व गरेको थियो ।

माओवादी केन्द्र र एमाले एकता भएर बनेको तत्कालीन नेकपाको प्रदेश २ बाहेक ६ वटै प्रदेशमा सत्ताको नेतृत्व थियो । नेकपा विभाजन भएसँगै सत्तामा एमालेको ओरोलो यात्रा सुरु भएको हो ।

ओली नेतृत्वको संघीय सरकार गुमाएको एमालेले गण्डकी प्रदेश सरकार, लुम्बिनी प्रदेश सरकार र बागमती प्रदेश सरकार यसअघि गुमाइसकेको छ ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार ०७८ जेठ २७ मा ढलेको थियो । गुरुङले पहिलो पटक राजीनामा दिएर पुनः दोस्रोपटक शपथ लिएर सत्ता जोगाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन । गण्डकीमा अहिले नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री छन् ।

शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार पनि एमालेले जोगाउन सकेन । ०७८ साउन २८ मा एमालेको लुम्बिनी प्रदेश सरकार ढलेपछि पाँचदलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका छन् ।

नेकपा विभाजनपछि पूर्ववत अवस्थामा फर्केको एमाले विभाजन भएर माधव नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको । एकीकृत समाजवादीले बागमती सरकारको नेतृत्व गरिरहेको छ ।

बागमती सरकार ढल्ने अवस्थामा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिए । एमालेकै अष्टलक्ष्मी शाक्य ०७८ भदौ २ गते मुख्यमन्त्री बनिन् । उक्त समयमा नेपाल पक्षधर रहेकी शाक्यलाई मुख्यमन्त्री बनाए पनि बागमती सरकार एमालेले जोगाउन सकेन ।

प्रदेश सभामा अविश्वासको प्रस्तावको फेस नगरिकनै शाक्यले कात्तिक १० गते राजीनामा दिइन् । बागमती प्रदेश सरकारको नेतृत्व त्यसपछि एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले गरिरहेका छन् ।

प्रदेश १ सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि १० भदौमा भीमप्रसाद आचार्य मुख्यमन्त्री बनेका थिए ।

आचार्यले पनि सोमबार प्रदेश सभामा अविश्वासको प्रस्ताव फेस नगरिकनै राजीनामा दिएसँगै एमालेले सबै प्रदेशबाट आफ्नो सत्ता गुमाएर प्रतिपक्षमा पुगेको छ ।

प्रदेश १ मा एकीकृत समाजवादीका राजेन्द्र राईलाई गठबन्धनले मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । उनले मंगलबार पद तथा गोपनीयताको शपथ लिनेछन् ।

प्रदेश २ जनता समाजवादी पार्टीका लालबाबु राउत मुख्यमन्त्री छन् । कर्णाली प्रदेशमा माओवादीका त्रिलोचन भट्ट र कर्णालीमा माओवादीका महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । कर्णालीमा मंगलबार नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री पदको शपथ लिनेछन् ।

झण्डै दुईतिहाइ बहुमत पाएपछि ओलीले उत्साहित हुँदै कांग्रेसलाई ५० वर्ष खोज्दा पनि नभेटिने टिप्पणी गरेका थिए । तीन वर्षमा कांग्रेसलाई नकारात्मक टिप्पणी गरेका ओलीलाई कांग्रेसको पाप लागेको छ । ओलीका कारण नेकपा र एमाले तीन वर्षमा फुटेको छ । सबै सरकार गुमाउनु परेको छ ।

Published : Monday, 2021 November 1, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया