नेपालको पहिचान सनातन धर्म, संस्कृति हो : कांग्रेस नेता भण्डारी

बर्दिवास । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले नेपालको पहिचान भनेको सनातन धर्म संस्कृति रहेको बताएका छन् ।

महोत्तरी जिल्लाको बर्दिवासमा तरुण विभागले आइतबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता भण्डारीले हिन्दू धर्म संस्कृतिलाई बचाउनुपर्ने बताए । उनले भने, ‘हाम्रो पहिचान भनेको सनातन धर्म संस्कृति हो । यसको संरक्षण गर्नुपर्छ ।’

तरुण विभागका प्रमुख समेत रहेका नेता भण्डारीले कम्युनिस्टहरू कहिल्यै पनि राष्ट्रवादी नहुने बताए । स्वार्थका लागि राष्ट्रियतालाई कम्युनिस्टले बेच्ने गरेको आरोप उनले लगाए । ‘कम्युनिस्टहरू कहिल्यै पनि राष्ट्रवादी हुँदैनन्’, उनले भने, ‘हाम्रो प्रमुख दुश्मन र प्रमुख शुत्र भनेका कम्युनिस्ट हुन् ।’

कम्युनिस्टहरूले कांग्रेसलाई जहिले पनि प्रधान शुत्र मान्ने गरेको उनले बताएका छन् । उनले भने, ‘कांग्रेसमाथि प्रहार भइरहेको छ । कम्युनिस्टका कारण राष्ट्रियता कमजोर भइरहेको छ ।’

‘संविधान समयसापेक्ष रुपमा संशोधन गर्दै जानुपर्छ । संविधान सभाबाट कांग्रेसको नेतृत्वमा बनेको संविधान सहमतिको दस्तावेज हो’, भण्डारीले भनेका छन् ।

‘महाधिवेशनमा पार्टीको नीति तथा कार्यक्रमलाईलाई ध्यान दिनुपर्छ’, उनले भने, ‘कमीकमजोरीका बाबजुद अधिवेशनको काम शुरु भइसकेको छ । प्रदेश नं. २ मा अधिवेशन हुन सकेको छैन ।’

नेता भण्डारीले को अधिवेशनमा धेरैभन्दा धेरै युवा तरुणहरू नेतृत्वमा आउनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘अधिवेशनको प्रक्रिया अगाडि बढ्नेछ । पार्टीको हितलाई ध्यान दिएर वडादेखि जिल्ला, प्रदेश अधिवेशन हुनेछ ।’

नेता भण्डारीले प्रदेश नं. २ मा नागरिकताको समस्या रहेको बताए । ‘यो कुरा कांग्रेसलाई थाहा छ’, उनले भने, ‘यसलाई चुनावी नारा बनाउने हो । समस्याको समाधान कांग्रेसले गर्छ ।’

नेता भण्डारीले तराई मधेश कांग्रेसको आधार क्षेत्र भएको बताएका छन् । भण्डारीले तराई मधेशमा कांग्रेस हार्दा कांग्रेसको कमजोर हुने बताए ।

उनले तराई मधेशमा कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए । कांग्रेस कमजोर हुँदा तराई मधेशमा विकास हुन नसक्ने नेता भण्डारीले बताए ।

कांग्रेसलाई मजबुत बनाउन तराई मधेशका कांग्रेसका नेता कार्यकर्ता एक भएर लाग्नुपर्ने नेता भण्डारीले बताएका छन् ।

तरुण विभागका प्रमुख समेत रहेका भण्डारीले तराई मधेश निकै सम्भावना बोकेको भूमि भएको बताउँदै तराई मधेशको विकासका लागि कांग्रेस प्रतिवद्ध रहेको बताएका छन् ।

१४औं महाधिवेशनमा पार्टीलाई सहि दिशामा लैजाने नेतृत्व चयन गर्न कार्यकर्ताहरूलाई नेता भण्डारीले निर्देशन दिएका छन् । नेतृत्वमा असल नेताहरूलाई जिताउन उनले आग्रह गरेका छन् ।

पार्टीको महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने मात्र नभई विगतको समीक्षा साथै भावी दिनका लागि नीति तथा कार्यक्रम तय गर्नुपर्ने भण्डारीले बताएका छन् ।

Published : Monday, 2021 November 1, 8:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया