कार्यबाहक प्रधानमन्त्री खाणले आफ्नै जिल्लामा पाए कार्यकर्ताको माया, नेता कार्यकर्ताद्वारा भव्य स्वागत

भैरहवा । कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएका छन् ।

आइतबार रूपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरूणा बुद्धमूर्तिको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै खाणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अविलम्ब सम्पन्न हुने बताए ।

उनले विमानस्थललाई मास्टर प्लान अनुसार नै बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गराउनका लागि निर्देशन दिँदै कार्यबाहक प्रधानमन्त्री खाणले त्यसका निम्ति सरकारले के गर्नुपर्छ सरकार गर्न तयार रहेको बताए ।

‘यो एयरपोर्ट अविलम्बै चालु होस्’, उनले भने, ‘त्यसका लागि नेपाल सरकारले गम्भीरतापूर्वक आफ्ना कदमहरू अगाडि बढाउनेछ ।’

कार्यवाहक प्रधानमन्त्री खाणले बुद्धको उपदेशलाई संसारभर पुर्‍याउन र आफ्नो जीवनमा अनुशरण गर्न सबै संवेदनशील हुन आग्रह पनि गरेका छन् ।

उनले नेपाल भौगोलिक, धार्मिक, भाषिक, सामाजिक र सांस्कृतिक विविधता हुनु नेपालको लागि सम्पदा रहेको बताएका छन् ।

उनले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानहरूलाई सरकारले राहत दिने पनि बताएका छन् ।

रुपन्देही जिल्ला कार्यबाहक प्रधानमन्त्री समेत रहेका गृहमन्त्री खाणको गृहजिल्ला पर्छ । खाण रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै नेपाली कांग्रेसका नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

खाणले रुपन्देहीका नेता कार्यकर्ताको मागलाई सम्बोधन गर्ने आश्वासन समेत दिएका छन् । उनले कांग्रेसका नेता कार्यकर्ताहरूसँग पनि भेटवार्ता गरेका थिए ।

निधन भएका कांग्रेसका नेताहरूको घरमा पुगेर समेत खाणले समेवदना प्रकट गरेका छन् ।

Published : Sunday, 2021 October 31, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया