काठमाडौंमा सेनाको मेडिकल कलेजबाटै एमबीबीएसका विद्यार्थी बेपत्ता

काठमाडौं । नेपाली सेनाको मेडिकल कलेजबाट एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी बेपत्ता भएका छन् ।

काठमाडौंको सानोभर्‍यास्थित सेनाको मेडिकल कलेजबाट राजेश शाही नाम गरेका विद्यार्थी भदौ १७ गतेदेखि बेपत्ता भएका हुन् ।

सुर्खेत जिल्ला स्थायी घर भएका राजेश बेपत्ता भए पनि खोजी कार्यमा सेना र नेपाल प्रहरीले सहयोग नगरेको आफन्तको आरोप छ । राजेशका दाई पर्ने पदम मल्लले प्रहरी र सेनाले खोजी कार्यमा सहयोग नगरेको गुनासो गरे ।

राजेशका आफन्त काठमाडौं प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिन समेत गएका छन् । तर, प्रहरीले सेनाभित्रको कुरा हो भनेर जाहेरी दर्ता नै नगरेर फिर्ता पठाइदिएको छ ।

राजेशका बुबा दानबहादुर शाहीले बेपत्ता भएका छोरा खोजीमा सुरक्षा निकायलाई हारगुहार गरेका छन् ।

नेपाली सेनाको मेडिकल कलेजले राजेश शाही खराब आचारणको भएका कारण आफै बेपत्ता भएको भनेर गैरजिम्मेवारी आरोप दिने गरेको मल्लले बताएका छन् ।

राजेश पढ्नमा जेहेन्दार विद्यार्थी रहेको मल्लले बताए । सुर्खेत जिल्लामा राजेश शाहीले सबैभन्दा राम्रो अंक लिएर उत्तीर्ण गरेका थिए । १६० जना विद्यार्थी रहेको सेनाको मेडिकल कलेजमा राजेश दश जनाभित्र पर्दथे ।

भदौ १७ गते कलेजबाट बेपत्ता भएका राजेशका बारेमा अत्तोपत्तो छैन । ५९ दिनसम्म पनि प्रहरी र सेनाका जिम्मेवार अधिकारीहरू चुपचाप रहेको मल्लको आरोप छ ।

राजेश बेपत्ता भएको जानकारी कलेजले आफन्तलाई ५ दिनपछि दिएको थियो । सेनाको कलेजकै होस्टेलमा राजेश बस्दै आएका थिए ।

राजेश होस्टेलबाट भदौ १७ गते बाहिर गएको कलेजले आफूहरूलाई जानकारी दिएको मल्लले बताएका छन् । सीसीटिभीको भिडियोमा एक जना विद्यार्थी बाहिर गएको देखिएको छ । त्यही विद्यार्थीलाई कलेजले राजेश भनेको छ । राजेशका आफन्तले सीसीटिभीको भिडियोमा देखिएको विद्यार्थी राजेश नरहेको दाबी गरेका छन् ।

स्थानीय प्रहरीले सेनाको कलेजका पदाधिकारीले भनेअनुसार मिसिल बनाएर घटनालाई लुकाउन खोजेको आरोप राजेशका आफन्तको छ ।

के भन्छ नेपाली सेना ?

नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ता सन्तोषबल्लभ पौडेलले राजेश शाही कलेजभित्र नहराएको दाबी गरेका छन् । उनले घटनालाई सम्वेदनशील रुपमा सेनाले लिएको बताए ।

‘कलेजको परीक्षा सम्पन्न भएपछि राजेश शाही होस्टेलबाट बाहिर जानु भएको देखिएको छ । हामीले अनुसन्धान र खोजविन गरिरहेका छौँ’, उनले भने, ‘बेपत्ता भन्ने शब्द प्रयोग नगरौँ । सेनाले नेपाल प्रहरीलाई सहयोग गरेको छ । हाम्रो अनुसन्धान अधिकृत पनि प्रहरीसँग समन्वय गरेर काम गरिरहनुभएको छ ।’

प्रवक्ता पौडेलले राजेश शाहीका परिवारजनसँग सम्पर्कमा रहेर खोजी कार्य गरिरहेको बताएका छन् ।

Published : Sunday, 2021 October 31, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया