ओली र एमालेलाई धुलो चटाएका कांग्रेस नेता भँडेल मन्त्री बने

काठमाडौं । एमाले र माओवादी केन्द्रको कथित वाम गठबन्धनले झण्डै दुईतिहाइ लिएर आतंक मच्चाएका बेला प्रदेशको उप–निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका बागमती प्रदेश सभाका सांसद कृष्णलाल भँडेल मन्त्री बनेका छन् ।

भँडेलले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । भँडेलको शपथ कार्यक्रममा भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापासहितका नेताहरू बिहीबार हेटौँडा पुगेर बधाइ तथा शुभकामना दिएका छन् ।

भक्तपुर जिल्लाबाट प्रदेश सभाको उप–निर्वाचनमा भँडेलले एमालेका उम्मेदवारलाई हराउँदै शानदार रुपमा जितेका थिए । तत्कालीन प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको निवास भक्तपुरको बालकोटमा पर्छ ।

ओलीले भँडेललाई हराउन सबै हर्कत गरेका थिए । भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाको कमाण्डमा नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापासहितका नेता कार्यकर्ताहरूको संयुक्त प्रयासमा भँडेललाई जिताएका थिए ।

भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले बागमती प्रदेश सरकारका मन्त्री भँडेललाई कार्यकाल सफलताको शुभकामना दिएका छन् । उनले बागमती प्रदेशको विकास र जनताको सेवा गर्न आग्रह गरेका छन् ।

कांग्रेसले भँडेललाई बागमती प्रदेश सरकारमा मन्त्री बनाएर कम्युनिस्टहरूको मनोबल गिराइदिएको छ ।

कांग्रेसको समर्थनमा बागमती प्रदेशका नेकपा (एकीकृत समाजवादी) नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदको शपथ लिएर जिम्मेवारी सम्हालेका छन् ।

कृष्णप्रसाद खनालले आन्तरिक मामिला र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रीको शपथ लिएका छन् ।

एमाले नेतृ अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

Published : Thursday, 2021 October 28, 11:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया