बार्दलीपछि ‘बले’ डनको शरणमा पुगे खड्गप्रसाद ओली, को हुन् ‘बले’ ?

काठमाडौं । क्यासिनो किङ र गुण्डा (डन) नाइकेको छवि बनाएका बलराम सापकोटा ‘बले’लाई भेटेर एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले फोटा खिचाएका छन् ।

बेलाबेला विभिन्न काण्डमा पर्दै आएका ‘बले’ प्रहरी हिरासतमा बसिसकेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले समेत मुद्धा चलाएको थियो ।

प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’सँगको सम्बन्धका कारण एमालेका ओली चर्चाका साथै बिबादमा तानिएका थिए ।

ओली अहिले भने सम्पत्ति शुद्धीकरणमा मुद्दा चलेका ‘बले’लाई खोज्दै झापाको मेची क्राउन होटेलमा पुगेका छन् ।

‘बले’को समूहले क्यासिनोसहित सञ्चालनमा ल्याएको होटेलमा पुगेर ओलीले तस्बिर खिचाएपछि आलोचना भएको छ ।

मेचीनगरमा डेढ सय करोडको लगानीमा ‘बले’को होटल असोजको पहिलो साताबाट सञ्चालन भएको छ ।

ओली प्रधानमन्त्री छँदा ‘बले’ तथा होटेलका अर्का सञ्चालक पवित्र कार्कीसहित दर्जनौं जुवाडे महाराजगञ्जको जुवा खालबाट पक्राउ परेका थिए ।

‘बले’ र कार्कीलाई छुटाउन ओलीलाई दवाव परेको थियो । ओलीले त्यस बेला ‘म त १४ वर्ष जेल बसेको हुँ, उनीहरू दुई–चार दिन बस्न किन नहुने ?’ ‘बले’का साथीहरू झपारेर पठाएका थिए ।

अहिले समय यस्तो आएको छ कि कमजोर बन्न थालेपछि ओली ‘बले’को शरणमा पुगेका छन् । बुधवार ओली बलेलाई खोज्दै झापाको होटेलमा पुगेको ‘बले’निकट स्रोतले जनाएको छ ।

ओली विवादास्पद बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँलाई एमालेमा रातो कार्पेट बिछ्याएर स्वागत गरेर चर्चामा आएका छन् ।

प्रसाइँकै महँगो गाडीमा चढेर ओलीले झापा जिल्लाको भ्रमण गरेर सबैलाई चकित तुल्याइदिएका छन् ।

आफ्नै अहँकार, घमण्ड र अधिनायकवादका कारण दुई वटा पार्टी विभाजन गरपछि ओली बालुवाटार छाडेर बालकोटको निवासको बार्दलीबाट भाषण गर्न पुगेका छन् । ओलीले अब विवादित व्यक्तिलाई होटलमा पुगेर भेट्न थालेका छन् ।

Published : Thursday, 2021 October 28, 12:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया