एआईजीपी पालले चकित पर्ने ‘पावर’ देखाए, सिंहले हेडक्वाटरलाई तनाब दिए

काठमाडौं । काठमाडौं प्रहरी परिसरका प्रमुख (एसएसपी) अशोक सिंहले ठूलो पावर लगाएर सरुवा हुनबाट थमौती भएका छन् ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र गृहमन्त्री रामबहादुर थापालाई रिझाएर काठमाडौं प्रहरीको प्रमुख बनेका सिंहका हर्कतका कारण प्रहरी हेडक्वाटरले सरुवा गर्न खोजेको थियो । काठमाडौंमा काम गर्न नसकेर आलोचना भएपछि सिंहलाई हटाएर अर्को नयाँ एसएसपी पठाउने तयारी भएको थियो ।

सरुवा हुन थालेको चाल पाएपछि सिंहले रातारात शक्ति लगाएर सरुवा रोकेको चर्चा हेडक्वाटरमा छ । सरुवा रोके पनि एसएसपी सिंहका लागि अबका दिन त्यति सजिलो हुनेछैन । सिंहले सरुवा रोकेर संगठनभित्र पङ्गा लिएको चर्चा छ ।

एसएसपी सिंहलाई महानगरीय प्रहरी प्रमुख (एआईजीपी) हरि पालले रोकेको चर्चा छ । रानीपोखरस्थित कार्यालयमा बसेर पालले आईजीपी फाल्ने षड्यन्त्र गर्दै आएको आरोप छ ।

आईजीपी बनाउने खेलमा एआईजीपी पाललाई डीआईजी उत्तमराज सुवेदी, एसएसपी अशोक सिंह सक्रिय रुपमा लागेको आरोप छ ।

आईजीपी क्षेत्रीलाई हटाउने अभियानमा अर्का एकजना डीआईजी पनि सक्रिय रुपमा चलखेल गर्दै आएको चर्चा छ ।

हेडक्वाटरले सिंहलाई हेडक्वाटर वा विमानस्थलमा तान्न खोजेको थियो । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी सुदीप गिरीलाई दिने तयारी भएको थियो ।

एआईजीपी पालको पावर लगाएर एसएसपी सिंहले आईजीपी क्षेत्रीलाई चक्मा दिएर काठमाडौं प्रहरी परिसरमै अड्डा जमाएर बसेका छन् ।

आईजीपी क्षेत्रीलाई हटाएर एआईजीपी पाललाई आईजीपी बनाउने भन्ने खेलमा एसएसपी सिंहको पनि नाम मुछिएको छ । अबको केही महिनाभित्र उमेर हदका कारण अनिर्वाय अवकास पाउने तयारीमा रहेका पालले राजनीतिक पावर लगाएर आईजीपी बन्ने खेलमा लागेको आरोप छ ।

पाललाई आईजीपी बनाउन बिचौलियाको आरोप लागेका दीपक भट्ट पनि सक्रिय छन् । पाललाई आईजीपी बनाएर प्रहरीभित्रको ठेक्कापट्टाहरू हत्याउने योजनमा भट्ट छन् ।

पाल र भट्टको गिरोहले नै सिंहलाई सरुवा हुनबाट रोकेको चर्चा हेडक्वाटरमा छ । बिचौलिया भट्ट तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई पनि रिझाउन सकेका मान्छे हुन् ।

राजनीतिक पावर लगाएर एक्लै एसएसपीबाट डीआईजीमा बढुवा भएर सबैलाई देखाइदिन्छु भन्ने गरेको चर्चा पनि छ ।

एसएसपी सिंहले कीर्ते काण्डमा तत्कालीन डीआईजी नवराज सिलवाललाई सफाइ दिने गरेर दुई पृष्ठ लामो प्रतिवेदन तयार पारेका थिए ।

एसएसपी सिंहले सिलवाललाई सफाइ दिन तयार पारेको प्रतिवेदन रिपब्लिका दैनिकले समेत फेला पारेको छ ।

डीआईजी सिलवालका कारण नेपाली कांग्रेसलाई निर्वाचनमा ठूलो धक्का पुगेको थियो । निर्वाचनमा कांग्रेस पराजित नै भयो । सभापति शेरबहादुर देउवालाई नवराज सिलवाल र आईजीपी काण्डसँग जोडेर बद्नाम गरेका थिए ।

सिलवाललाई आईजीपी बनाउने विषयमा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले सभापति देउवासँग टसल लिएर पदबाट राजीनामा नै दिएका थिए । त्यहाबाट शुरु भएको तिक्तता देउवा र निधिको सम्बन्ध अलग–अलग भएको छ ।

एसएसपी सिंहले सिलवाललाई कीर्ते काण्डमा सफाइ दिन सहयोग गर्ने प्रतिवद्धता जनाएपछि तत्कालीन प्रधानमन्त्री ओलीले काठमाडौं प्रहरीको प्रमुख बनाएका थिए ।

ओलीका कारण सिलवाललाई गुन लगाएका एसएसपी सिंहले अहिले आएर खाँटी कांग्रेस समर्थक बनेका छन् ।

Published : Wednesday, 2021 October 27, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया