तरुण विभागले फुटबल टिमलाई बुधबार भव्य सम्मान गर्ने

काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागले दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा उप–विजेता भएको नेपाली राष्ट्रिय फुटबल टिमलाई बुधबार नगदसहित सम्मान गर्ने भएको छ ।

माल्दिभ्सको राजधानी मालेमा केही दिन अगाडि सम्पन्न १३औँ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएर उप–विजेतामा चित्त बुझाउनु परेको थियो ।

बुधबार काठमाडौंको प्रदर्शनमार्गस्थित राष्ट्रिय सभा गृहमा दिउँसो १ बजे विभागले फुटबल टिमलाई नगदसहित सम्मान गर्ने भएको हो ।

गृहमन्त्री बालकृष्ण खाँड, विभागका प्रमुख शंकर भण्डारी र अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले राष्ट्रिय टिमका खेलाडी, प्रशिक्षक तथा अफिसियललाई नगदसहित सम्मान गर्नेछन् ।

मालेको राष्ट्रिय रंगशालामा असोज ३० गते भएको फाइनलमा भारतसँग ३–० को पराजय भोगेपछि नेपाल साफ च्याम्पियनसिपमा पहिलो पटक उपाधि जित्ने सम्भावनाबाट बञ्चित भएको थियो ।

क्षेत्रीय फुटबलको सबभन्दा ठूलो मेलाको २८ वर्षे इतिहासमा नेपाल फाइनल पुगेको यो पहिलो अवसर हो ।

Published : Tuesday, 2021 October 26, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया