आईजीपीविरुद्ध रानीपोखरीमा षड्यन्त्र, पाललाई हत्या जाहेरीले तनाब

काठमाडौं, ८ कात्तिक । सर्लाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कुमार पौडेलको कथित इन्काउन्टर काण्डमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) हरि पालविरुद्ध पनि जाहेरी दर्ता भएपछि तनाब उत्पन्न भएको छ ।

केही महिनाभित्रै एआईजीपीबाट अनिवार्य अवकास पाउने तयारीमा रहेका पाललाई कुमार पौडेल इन्काउन्टरले तनाब दिएको छ ।

सर्वोच्च अदालतको आदेशपछि सर्लाही प्रहरीमा १२ जनाविरुद्ध पौडेलका आफन्तले जाहेरी दिएका छन् । जाहेरीमा एआईजीपी पालको नाम पनि छ । पौडेलको कथित इन्काउन्टर हुँदा प्रदेश नं. २ को प्रहरी प्रमुखमा पाल थिए ।

पालसहितका सबै अभियुक्तलाई पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान गर्न कुमार पौडेलका आफन्तको माग छ ।

पौडेल मुठभेडमा मारिएको दाबी प्रहरीको भए पनि मृतकका परिवारले प्रहरीबाटै हत्या भएको बताउँदै आएको छ । पौडेलको ५ असार ०७६ मा प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।

राजनीतिक पावर लगाएर आईजीपी बन्ने खेतीपातीमा लागेका पाल महानगरीय प्रहरी रानीपोखरीको प्रमुखमा छन् । पाल मेट्रोमा राजनीतिक पावर लगाएर अड्डा जमाएर बसेका छन् ।

एआईजीपी पालविरुद्ध उठेका जिज्ञासा र आरोपका विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

पालले आईजीपी शैलेन्द्र थापा क्षेत्रीलाई हटाएर भए पनि आईजीपी बन्छु भनेर निकटकालाई बताउने गरेका छन् । मुडबेल लगाएर आईजीपी बन्ने चक्करमा लागेका पाललाई मुद्धा परेपछि तनाब भएको हो । पालले पनि मुद्धा खेप्नुपर्नेछ ।

हालका आईजीपी क्षेत्रीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार वा राजदूत बनाएर पठाउने र आईजीपी आफू बन्ने चक्करमा लागेको स्रोतको भनाइ छ । पालले जति नै गरे पनि आईजीपी बन्ने कुरा त्यति सजिलो छैन ।

आईजीपी क्षेत्री र एआईजीपी पालबीच राम्रोसँग बोलचाल पनि नरहेको स्रोतको भनाइ छ । क्षेत्री र पालबीचको तिक्तताका बारेमा हेडक्वाटर चर्चा छ ।

नेपाली कांग्रेसको सरकार आएपछि एआईजीपी पाल सबैभन्दा धेरै हौसिएका छन् । सोही कारणले पालले आईजीपी क्षेत्रीलाई नटेर्ने गरेको चर्चा छ । पछिल्लो समय प्रहरीको आईजीपी क्षेत्री हुन् कि पाल हुन् भनेर हेडक्वाटरमै कन्फ्युज उत्पन्न भएको ठट्टा हुने गरेको चर्चा छ ।

दशैँ तिहारका अवसरमा सर्वाजनिक सवारी साधनले मनपरि गरेका छन् । भाडा आफू खुसी उठाएका छन् । ट्याक्सीको ज्यादती त्यस्तै छ । एआईजीपी पाल, डीआईजी उत्तमराज सुवेदी र एसएसपी अशोक सिंह भने ती कुरालाई ध्यान नदिएर चुपचास बसेको आरोप छ ।

काठमाडौं उपत्यकाभित्र पछिल्लो समय जुवा र तासको अड्डा नै चलेको छ । दशैँ र तिहारका अवसरमा करोडौँका जुवाहरू चलिरहेका छन् । पालले ती जुवा र तासका अखडालाई संरक्षण गरेको आरोप पनि छ ।

काठमाडौं प्रहरीका प्रमुख सिंहले पनि दशैँ र तिहारका मौकामा काठमाडौंभित्र सञ्चालन भइरहेका तास र जुवाका अखडालाई खुला छाडिदिएको आरोप छ ।

उपत्यका बाहिरका जिल्लाहरूमा प्रहरीले छापामारेर जुवाका अखडाहरू बन्द गरिदिएका छन् । काठमाडौंमा तुवा र तास बन्द हुन सकेको छैन ।

Published : Monday, 2021 October 25, 12:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया