सांसद ‘अपहरण’ गर्ने पूर्वआईजीपीलाई ओलीले एमालेमा भित्र्याउने, तनहुँबाट सांसद बनाउने

काठमाडौं । उपेन्द्र यादवको पार्टीका प्रतिनिधि सभाका सांसद अपहरण गरेको अभियोग खेपेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल एमालेमा प्रवेश गर्ने भएका छन् ।

एमालेमा प्रवेश गर्न खनालले नेताहरूसँग कुराकानी गरिरहेको एमालेका नेता किरण गुरुङले बताएका छन् । एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । एमालेले अधिवेशनको बाँकी काम पनि धमाधम गरिरहेका बेला खनाल पार्टी प्रवेश गर्न लागेका हुन् ।

पूर्वआईजीपी खनालले प्रतिनिधि सभाको निर्वाचनमा टिकटको माग राखेका छन् । तनहुँ क्षेत्र नं. १ बाट खनालले प्रतिनिधि सभामा एमालेले आफूलाई टिकट दिनुपर्ने माग राखेको स्रोतले जनाएको छ ।

खनालले अबको निर्वाचनमा एमालेबाट सांसदको उमेदवार बन्ने तयरीमा रहेको आफू निकटहरूसँग बताउने गरेका छन् ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले खनाललाई धेरै रुचाउँदैनन् । खनाल एमालेका नेता महेश बस्नेत निकट मानिन्छन् । बस्नेतलाई ओलीले मन पराउँदैनन् ।

पूर्वआईजीपी खनाललाई सांसद अपहरण गरेवापत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको पदमा नियुक्ति दिनुपर्ने भनेर निकटका नेताहरूमार्फत ओलीलाई दवाव दिएका थिए ।

तर, खनाललाई प्रमुख आयुक्त त के ? कुनै पनि नियुक्ति ओलीले दिएका थिएनन् । अब पनि खनालले ओलीलाई खुसी बनाएर तनहुँबाट सांसद बन्ने सपना देखेको चर्चा छ ।

पूर्वआईजीपी खनालले तनहुँबाट टिकटमा दाबी गरेपनि तनहुँ एमालेमा योगदान गरेका नेताहरू असन्तुष्ट बनेका छन् । खनाललाई टिकट दिन नसकिने एमाले तनहुँका नेताहरूको भनाइ छ ।

पूर्वआईजीपी खनालको पुख्र्यौली घर तनहुँ जिल्लामा पर्छ । खनालको सबै परिवार नेपाली कांग्रेसमा आबद्ध छन् । प्रहरीको जागिरे हुँदा खनालले कांग्रेसबाट धेरै अवसर लिएका थिए ।

आईजीपी बनेका बेला निर्मला पन्त काण्ड बिथोलेर खनाल आलोचित बनेका थिए । प्रहरीमा खनाललाई असफल आईजीपी भनेर टिकाटिप्पणी हुने गरेको छ । स्वार्थका लागि खनालले फेक इन्काउन्टरदेखि सांसद अपहरण जस्ता गतिविधि गर्ने गरेको आरोप छ ।

खनालले व्यक्तिगत स्वार्थ र लाभका लागि एसएसपी रहेका बेला कुमार श्रेष्ठ ‘घैँटे’लाई नियन्त्रणमा लिएर घरमै गोली हानेर कथित इन्काउन्टरका नाममा हत्या गरेका थिए ।

खनालले प्रहरीका समक्षम अफिसरहरूको भव्यष्य नै बिगारेको आरोप छ । यिनै खनालको पालामा ३३ किलो सुन काण्ड भएको थियो । खनालले प्रहरीका उच्च अधिकारीहरूलाई व्यक्तिगत इगोका कारण जबरजस्ती सुनकाण्डमा फसाएका थिए ।

खनालले सुनकाण्डमा फसाएका सबै प्रहरीले पछि सफाइ पाएका थिए । निर्मला काण्डमा पनि धेरै प्रहरीले दुःख पाए । पछि सबैले सफाइ पाएर जागिरमा फर्किएका थिए ।

ओलीले यसअघि नेपाल प्रहरीभित्र आईजीपी बन्न कीर्ते काण्ड गर्ने तत्कालीन डीआईजी नवराज सिलवाललाई ललितपुरबाट प्रतिनिधि सभाको सांसद बनाइसकेका छन् ।

Published : Monday, 2021 October 25, 11:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया