सक्रिय बने राज्यमन्त्री श्रेष्ठ, सचिवहरूलाई दिए निर्देशन

काठमाडौं । विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठले विद्युत् उत्पादन र आर्थिक उन्नतीका विषयमा सचिवहरूसँग परामर्श गरेका छन् ।

उनले सचिवहरूलाई विद्युत उत्पादनका साथै त्यसको खपत र जनताको आर्थिक उन्नतीमा ध्यान दिएर काम गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार राज्यमन्त्री श्रेष्ठले मन्त्रालयका सचिवहरूलाई बोलाएर विद्युत् उत्पादन, प्रशारण, वितरण र उपभोगलगायतका विषयमा छलफल गरेका हुन् ।

विद्युत् उत्पादन, प्रशारण, वितरण र उपभोगलाई उद्देश्यपरक बनाउने हेतुले खपत वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धधनमार्फत् व्यापारघाटा न्यूनीकरण लगायत विविध आयामहरूमा काम गर्न राज्यमन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।

उनले आर्थिक विस्तारको दिगो आधार तयार गर्ने र गुणस्तरीय जीवन अभिवृद्धि गर्ने विषयमा सचिवहरूसँग छलफल गरेको निजी सचिवालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राज्य मन्त्री रहेका बेला श्रेष्ठले कोरोनाविरुद्धको खोप ल्याउनेदेखि स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारहरू गरेका थिए ।

विना विभागीय मन्त्री श्रेष्ठले उर्जा र विद्युतका क्षेत्रमा आफूलाई केन्द्रित बनाएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल बनाउन आफूबाट हुने कामहरू गर्दै आएका छन् ।

Published : Sunday, 2021 October 24, 11:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया