गिरी र खड्कालाई लिएर महामन्त्री कोइराला भारत प्रस्थान, पौडेल-रिजालद्वारा विदाइ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला भारत प्रस्थान गरेका छन् ।

महामन्त्री कोइराला शनिबार बिहान ८ बजेको उडानबाट केन्द्रीय सदस्य दीपक गिरी र संखुवासभाका सभापति दीपक खड्कालाई साथमा लिएर नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

कोइरालाको टोली सडकमार्ग हुुँदै मुम्बई जानेछ । मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्न महामन्त्री कोइराला, नेताद्वय गिरी र खड्का भारत गएका हुन् ।

महामन्त्री कोइरालासहितका नेताहरूको टीमलाई नेता रामचन्द्र पौडेल र रक्षामन्त्री मीननेन्द्र रिजालले विदाइ गरेका थिए ।

नयाँदिल्लीमा रहँदा महामन्त्री कोइरालासहितका नेताहरूले भारतीय नेताहरूसँग पनि भेट गर्ने जनाइएको छ ।

कांग्रेसको नेतृत्वको सरकार रहेका बेला र पार्टीको १४औँ महाधिवेशन चलिरहेका बेला महामन्त्री कोइराला विश्वासपात्रद्वय गिरी र खड्कालाई साथमा लिएर नयाँदिल्ली गएका छन् ।

पूर्वराज्यमन्त्री समेत रहेका संखुवासभाका सभापति खड्कालाई चीन निकट भनेर आरोप पनि छ । चिनियाँ नेता र उच्च अधिकारीहरूसँग खड्काको सम्बन्ध रहेको कांग्रेसभित्र चर्चा हुने गरेको छ ।

चीनसँग निकट रहेका खड्कालाई लिएर महामन्त्री कोइराला नयाँदिल्ली जानुलाई कांग्रेसभित्र महत्वका साथ हेरिएको छ ।

Published : Saturday, 2021 October 23, 12:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया