प्रधानन्यायाधीशविरुद्ध कम्युनिस्टहरू एक भएका बेला यस्तो आयो कांग्रेसको धारणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने पक्षमा कांग्रेस नरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान अन्तर्वार्ताका क्रममा नेता साउदले भने, ‘प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने कांग्रेसको कुनै योजना छैन ।’

एमाले र केही कम्युनिस्टहरूले प्रधानन्यायाधीश जबराविरुद्ध अभियान चलाइरहेका बेला कांग्रेस नेता साउदले कांग्रेसको धारणा सार्वजनिक गरेका छन् । साउदले जबरालाई हटाउने वा नहटाउने विषयमा कांग्रेस दुबै पक्षमा नरहेको बताएका छन् ।

‘चोलेन्द्रशम्शेर जबरालाई हटाउने वा बचाउने भन्ने दुइटै कुरा अहिले हुँदैन’, उनले भने, ‘प्रधानन्यायाधीशका विरुद्ध या प्रधानन्यायाधीशलाई हटाउनका लागि पनि महाअभियोग जस्ता कुरा, कानूनी प्रबन्धहरू संविधानमा छन् ।’

उनले भने, ‘प्रधानन्यायाधीश जस्तो मर्यादित संस्थालाई हामीले अखबारमा या जनस्तरमा विवादको विषय बनाउनु हुँदैन । कुनै पनि कुराको संवैधानिक, कानूनी निरुपण गर्नुपर्छ ।’

‘पार्लियामेन्टको दुईतिहाइले निलम्बन नगरुञ्जेलसम्म या महाअभियोग नलगाउञ्जेलसम्म प्रधानन्यायाधीशलाई हटाउने अर्को उपाय पनि छैन’, नेता साउदले भने, ‘नेपाली कांग्रेसले न्यायालयभित्र मर्यादा, पदद्धि स्थापित होस् भन्ने कुरामा सम्वेदनशील छ ।’

नेपाल बार एसोसिएसनले शुक्रबार प्रधानन्यायाधीश जबरालाई १५ दिनको अल्टिमेटम समेत दिएको छ । जबरालाई गोला प्रथाबाट इजलास तोक्नुपर्ने लगायतका माग राखेर बारले अल्टिमेटम र चेतावनी दिएको छ ।

बारमा कम्युनिस्ट समर्थक अधिवक्ताहरूको कार्यसमितिमा बर्चश्व छ ।

माओवादी केन्द्र समर्थक वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेका छन् ।

उनले जबराले पदबाट राजीनामा नदिए समय परिस्थिति नयाँ मोडमा जान सक्ने चेतावनी दिएका छन् । जबराले प्रधानन्यायाधीश पदमा रहेर निष्पक्ष न्याय दिने कुरा सोँच्न पनि नसकिने श्रेष्ठले बताएका छन् ।

Published : Saturday, 2021 October 23, 11:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया