जबराका दिनदशा बिग्रिए, पूर्व प्रधानन्यायाधीशहरूसँग गोप्य भेट

काठमाडौं । विभिन्न काण्डमा आलोचना खेप्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार पूर्वप्रधानन्यायाधीशहरूलाई गोप्य रुपमा भेट गरेको रहस्य बाहिरिएको छ ।

जबराले दशैँको शुभकामना दिने बहानामा पूर्वप्रधानन्यायाधीशहरूलाई भेट गरेका हुन् । संकटमा परेका जबराले चार पूर्वप्रधानन्यायाधीशहरूलाई उनीहरूकै घरमा पुगेर भेटेको उच्च स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई भेटेका छन् ।

जबराले पूर्वप्रधानन्यायाधीश कार्कीलाई दशैं अगाडि भेटेका थिए । जबरा शनिबार कार्कीको घरमा पुगेका थिए । कार्कीलाई भेट्न जबराले एकजना न्यायाधीशलाई पनि साथमा लगेका थिए ।

प्रधानन्यायाधीश जबराले असोज २६ गते पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पनि उनकै घरमा भेट गरेका छन् ।

जबराले पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मालाई पनि दशैंको अघिल्लो दिन निवासमै पुगेर भेट गरेका छन् ।

जबराले पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीलाई पनि घरमै पुगेर भेट गरेका छन् ।

पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश राणा एकपछि अर्को विवादमा परेको भन्दै यथोचित् निकास दिन आग्रह गरेको छ ।

फोरमले शुक्रबार छैठौं साधारणसभा क्रममा न्यायपालिकाको वर्तमान स्थिति विश्लेषण गर्दै मन्त्रिपरिषदमा भागबन्डा खोजेको प्रकरण लगायत विषयमा विवादित बनेका प्रधानन्यायाधीश राणाले स्वयं निकास दिनुपर्ने बताएको हो ।

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग खोजेपछि विवादित बनेका छन् । जबराको मागअनुसार गजेन्द्र हमाललाई मन्त्री बनाएपछि जोडदार रुपमा विवाद भएको थियो । हमाल जबराका जेठान हुन् ।

उता, प्रधानन्यायाधीश जबरालाई गोला प्रथाबाट इजलास तोक्न माग गर्दै नेपाल बार एसोसिएसनले अल्टिमेटम दिएको छ ।

बारको अल्टिमेटमले जबरालाई झन् ठूलो तनाब भएको छ । जबराका दिन खराब चलेका बेला चार जना पूर्वप्रधानन्यायाधीशहरूलाई भेट गरेको समाचार बाहिरिएपछि खैलाबैला भएको छ ।

Published : Saturday, 2021 October 23, 12:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया