शंकर पोखरेललाई आज तोरिको फूल देखाउने विपक्षीहरूको तयारी, एमालेको धड्कन बड्यो

बुटवल । प्रदेश सभाको बैठक छल्दै आएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई विपक्षी दलहरूले आज तनाब दिने भएका छन् ।

चोरबाटोबाट मुख्यमन्त्री बनेको आरोप खेप्दै आएका पोखरेललाई आजबाट शुरु हुने प्रदेश सभाको बजेट अधिवेशनमा विपक्षी दलहरू राजीनामा माग्ने तयारी गरेका छन् । बैठक दिउँसो १ बजे बस्ने कार्यक्रम छ । बैठकमा विपक्षी दलहरूले हंगामा गर्ने सम्भावना छ ।

विपक्षी दलहरूले भने मुख्यमन्त्री पोखरेलको राजीनामा माग गर्ने तयारी गरेका छन् । पोखरेललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल (जसपा)को उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चाका सांसदहरूले तनाब दिने तयारी गरेका हुन् । विपक्षीहरूको विरोध हुने सूचना पाएका मुख्यमन्त्री पोखरेल तनाबमा रहेको चर्चा छ ।

कोरोना महामारी नियन्त्रणदेखि मुख्यमन्त्रीको राजीनामासम्मको कुरा बैठकमा हुने विपक्षी नेताहरूले बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले जालझेल गर्दा पनि बहुमतको अवस्थामा रहन नसकेको ठहर विपक्षी गठबन्धनको छ ।

वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेकोमा मुख्यमन्त्री पोखरेलले वैशाख १९ गते बोलाइएको संसद बैठक बस्न नपाउदै अर्कै बाटोबाट मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी गठबन्धनमा तीव्र असन्तुष्ट रहदै आएको छ ।

दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएकोमा त्यसलाई पनि संसदमा प्रवेश गराइएको छैन । एमाले अल्पमतमा परेको अवस्थामा जनता समाजवादी पार्टीका सांसदहरूलाई मन्त्री नियुक्त गरेर आफ्नो पक्षमा ल्याउँदासमेत मुख्यमन्त्री अल्पमतमा छन् ।

लुम्बिनी प्रदेश सभामा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), अल्पकालीन आदेशबाट सांसद् पद पाएका ४ जनासहित जसपाका ६ र राष्ट्रिय जनमोर्चामा एक सांसद छन् ।

Published : Wednesday, 2021 June 2, 8:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया