शंकर पोखरेलको जिल्लामा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पाण्डेलाई प्रहरीद्वारा दुर्व्यवहार

घोराही । दाङ जिल्लाको घोराही उप–महानगरपालिका– १५ का वडाध्यक्ष प्रायः फिल्डमै हुन्छन् । झन् यो कोरोनाको महामारीमा उनको दिनचर्या नै अक्सिजन सिलिण्डर खोज्ने र अक्सिजन सिलिण्डरसहित कोरोना संक्रमित बिरामीको उपचारको ब्यवस्था मिलाउने नै छ ।

अत्यन्तै सजिला र सहयोगी वडाध्यक्ष रमेश पाण्डेलाई मंगलबार पनि दिउँसो १२ बजेतिर आफ्नै रतनपुर आसपासकै एकजना वडाबासीले अक्सिजन सिलिण्डर खोजेर ल्याइदिन फोनमा अनुनयविनय गरे । उनी त्यहि फोनको आधारमा अक्सिजनसहितको सिलिण्डर खोज्न र समन्वय गरिदिन वडा कार्यालयबाट निक्लिएका थिए ।

आफ्नो वडा कार्यालयबाट सिधै हानिएका वडाध्यक्ष पाण्डे प्रहरी कार्यालय दाङको गेट अगाडि पुग्दै गर्दा प्रहरीले चेकिङ गर्दै रहेछ । प्रहरी कार्यालयको गेट रहेको सडकमा प्रहरी निरीक्षक रामकुमार यादवको कमाण्डमा चेकिङ भैरहेको थियो । वडाबासीको अनुरोधले पाण्डे जतिसक्यो चाँडो अक्सिजन सिलिण्डर लिएर जाने पक्षमा थिए ।

तर, चेकिङमा खटिएका प्रहरी निरीक्षक यादवलाई वडाध्यक्ष पाण्डेले आफ्नो परिचय दिए । उपनले वडाध्यक्षको परिचय पत्र पनि देखाए । परिचय पत्र देखाउँदा पनि ती प्रहरी निरीक्षक यादव टसमस गरेनन् । वडाध्यक्ष पाण्डेको अनुरोधलाई मानेनन् । उनले चेकिङमा आफ्नो वडाध्यक्षको शक्ति पनि देखाएनन् ।

फेरि प्रहरी निरीक्षक यादवले वडाध्यक्षको लाइसेन्स पनि मागे । त्यो पनि देखाए । ती प्रहरी निरीक्षक यादव अझै रिसाउँदै आफूलाई देख्दा पनि स्कुटरको गति कम किन नगरेको भनेर प्रतिप्रश्न गरे । प्रहरी निरीक्षक यादवले छाड्ने मनसाय नदेखेपछि आफ्नो स्कुटर प्रहरीलाई उनले बुझाए । अर्को बाइक खोजेर उनी वडावासीको काममा लागे ।

जिल्ला प्रहरी कार्यालय नै घोराही–१५ मा पर्छ । प्रहरी निरीक्षक यादवले कार्ड देखाउँदा पनि वडाध्यक्षलाई चिनेनन् । वडाध्यक्ष पाण्डेले आफूलाई चेकिङ गरेकोमा कुनै गुनासो नरहेको बताएका छन् । परिचय पत्र देखाउँदा पनि आफूले चढेको स्कुटर नियन्त्रणमा लिएर राख्दा आफूलाई प्रहरीको काम कारबाहीप्रति दुःख लागेको बताएका छन् ।

चेकिङमा खटिएका प्रहरी निरीक्षक यादवले नै आफूलाई देखेपछि एक किलोमिटर परबाट स्कुटर सुस्त किन नगरेको ? भनेर दिएको हप्कीदप्की गरिनुले आम नागरिकलाई प्रहरीप्रतिको बुझाइ नकारात्मक हुने वडाध्यक्ष पाण्डेले बताएका छन् ।

उनले कोरोना महामारीका बेला जनताको सेवामा खटिनु आफ्नो दायित्व रहेको बताएका छन् । ‘म जनप्रतिनिधि हुँ । कुनै हुल बाँधेर हिँडेको थिएन । अक्सिजन सिलिण्डन खोज्न हिँडेको थिएँ’, वडाध्यक्ष पाण्डेले भने, ‘प्रहरीले जनप्रतिनिधिलाई अवरोध गरेर के गर्न खोजेको हो ? दाङको प्रहरी नेतृत्वप्रति गम्भीर प्रश्न उठेको छ ।’

प्रहरीले अरु खोज्ने कागज पत्र के–के हो ? सबै बुझाउन तयार रहँदा पनि जनप्रतिनिधिको काममा अबरोध गर्नु उचित नरहेको पाण्डेले बताएका छन् ।

कोरोनाको महामारीमा जनताको उपचारदेखि शव ब्यवस्थापनको समन्वयसम्म गर्न वडाध्यक्ष पाण्डे युद्धस्तरमा काम गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले प्रहरी निरीक्षकले नचिनेर वडाध्यक्ष पाण्डेको स्कुटर रोकेको प्रतिक्रिया दिएका छन् । उनले वडाध्यक्ष पाण्डेलाई स्कुटर लैजान अनुरोध गरिसकेको बताएका छन् ।

प्रहरीले नियतवसभन्दा पनि नचिनेर वडाध्यक्ष पाण्डेप्रति अभद्र व्यवहार भएको भन्दै एसपी चन्दले वडाध्यक्ष आफैमा सहयोगी रहेको बताएका छन् ।

दाङ जिल्ला एमालेका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला पनि हो । घोराही उप–महानगरपालिकामा एमालेका केन्द्रीय सदस्य नरुलाल चौधरीले मेयरमा जितेका छन् ।

वडा नं. १५ का वडाध्यक्ष पाण्डे नेपाली कांग्रेसबाट निर्वाचित हुन् । एमाले र माओवादीले जितेका वडाहरूमा भन्दा कांग्रेसले जितेका वडाहरूमा कोरोना महामारीका बेला जनताको पक्षमा धेरै काम भएका छन् ।

कांग्रेस नेता एवम् वडाध्यक्ष पाण्डेको कामबाट कम्युनिस्टहरूलाई टाउको दुखाइ भएको थियो । सोही बेला दाङको प्रहरीले वडाध्यक्ष पाण्डेलाई दुर्व्यवहार गरेर कम्युनिस्टप्रति वफादारिता देखाएको आरोप दाङ कांग्रेसले लगाएको छ ।

घोराहीका मेयर चौधरीले नै कोरोनाका बेला राम्रोसँग काम गर्न नसकेको भनेर धेरै गुनासाहरू छन् । यस्तो बेला वडाध्यक्ष पाण्डेले समस्यामा परेकाहरूलाई सहयोग गर्दै आएका छन् ।

नेपाली कांग्रेस दाङका युवा नेता एवम् पूर्वसचिव कमलकिशोर घिमिरले जिल्ला प्रहरी कार्यालय दाङबाट घोराही उप–महानगरपालिका– १५ का वडाध्यक्ष एवम् कांग्रेस नेता नेता पाण्डेमाथि गरिएको दुर्ब्यवहारको भर्त्सना गरेका छन् ।

उनले प्रहरी प्रशासनलाई सचेत रहन आग्रह गर्दै कम्युनिस्ट सत्ताको पिछलग्गु नहुने चेतावनी दिएका छन् । उनले भने, ‘कम्युनिस्ट सत्ताको धेरै चाकडी गर्ने बानी त्यागौँ । प्रहरीले जिम्मेवारी भुल्नु हुँदैन । जनताको करबाट तलव खानेहरूले जनतालाई सम्मान गर्न सिक्नुपर्छ ।’

नेपाली कांग्रेस दाङका सचिव शंकर डाँगीले घोराही उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष पाण्डेमाथि भएको प्रहरी ज्यादतिको विरोध गरेका छन् ।

‘जनप्रतिनिधिको नाताले आफ्नो वडावासीको काम गर्न आफ्नो वडा कार्यालयमा स्कुरमा जाँदै गर्दा प्रहरी चेकिङमा आफ्नो परिचय दिएर आवश्यक कागजपत्र देखाउँदा पनि प्रहरी अधिकृतले स्कुटरलाई जबर्जस्ती जिप्रकाभित्र राखिने व्यवहार खेदजनक छ’, उनले भने, ‘प्रहरीको यो कार्यबाट आम जनतामा नकारात्मक प्रभाव र त्रास उत्पन्न भएको छ ।’

सचिव डाँगीले जनप्रतिनिधिलाई यस्तो व्यवहार गर्ने प्रहरीले आम जनतालाई कस्तो व्यवहार गर्छ होला ? भन्ने प्रश्न पनि उब्जिएको बताएका छन् । उनले भने, ‘हाम्रो अनुरोध छ प्रहरीले आफ्नो व्यबहार जनताप्रति उत्तरदायी बनाओस । दुःख दिने कार्य नगरोस् । यो घटनाप्रति घोर आपत्ति छ ।’

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने बेला एक महिना अगाडि लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी रविन्द् धानुकले कम्युनिस्ट सत्ताको चाकडी गर्दा विपक्षी दलका महिला सांसदमाथि दुर्व्यवहार गरेको आरोप कांग्रेसले लगाएको थियो । अहिले दाङमा झण्डै त्यस्तै घटना भएको छ ।

Published : Tuesday, 2021 June 1, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया