कांग्रेस नेता भण्डारीद्वारा धर्मनिरपेक्षता र संघीयता खारेजीको प्रस्ताव, देशभरि नयाँ तरंग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले केन्द्रीय कार्यसमितिको बैठकमा आफूले धर्मनिरपेक्षाता अन्त्य गरि आवश्यक्ता परे संघीयता खारेजीको प्रस्ताव राख्ने बताएका छन् ।

सोमबार भएको जुम मिटिङमा ‘लोकतन्त्र सम्वाद’ अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता भण्डारीले ०६२/६३ पछि पार्टीले बैचारिक रुपमा पार्टीले गलत बाटो लिएको बताए । उनले कम्युनिस्टहरूसँगको सहकार्य तत्काल तोड्नुपर्ने पनि बताएका छन् ।

‘हुन त मैले केन्द्रीय समितिमा राख्ने कुरा हो । पार्टीले ०६२/६३ पछि नीतिगत र बैचारिक रुपमा पार्टी गलत बाटोमा गयो त्यो सच्चिनुपर्छ । यो विषयमा मैले केन्द्रीय समितिमा लिखित रुपमा प्रस्ताव राख्छु’, उनले भने, ‘आवश्यक परे संघीयता खारेज गर्नुपर्छ ।’

‘पार्टीले आफ्नो नीतिगत रुपमा पुनर्विचार गरेर धर्मनिरपेक्षता अन्त्य गरि आवश्यक्ता परे संघीयता खारेजीको बाटोमा पार्टी जानुपर्छ’, भण्डारीले भने, ‘केन्द्रीय समितिमा यो मेरो प्रस्ताव हुन्छ ।’

‘पार्टीको अधिवेशन भनेको नेतृत्व चयन मात्रै होइन । महान चर्चितदेखि युवा भनौदा नेताहरू केन्द्रीय समितिमा छौँ’, नेता भण्डारीले भने, ‘केन्द्रीय समितिमा अनुशासन नभएको कार्यसमिति आवश्यक छैन भनेर मैले पहिला नै बोलेको कुरा हो । नेतृत्व आउनु प्रक्रियाको कुरा हो ।’
‘मुलभूत कुरा पार्टीको नीति, पार्टीको कार्यनीति, कार्यदिशा ठूलो कुरा हो’, उनले भनेका छन् ।

नेता भण्डारीले कांग्रेसले कम्युनिस्टसँग सहकार्य गर्न नहुने बताएका छन् । ‘कम्युनिस्टसँगको एकता तोड्नुपर्छ । सहकार्य तत्काल तोड्नुपर्छ’, उनले भनेका छन् ।

‘केन्द्रीय कार्यसमितिमा यति ठूलो संख्यामा हामी १२औँ र १३औँ महाधिवेशनबाट युवा पुस्ताहरू आयौँ । १४औँ महाधिवेशन गर्नुपर्छ भन्ने कुरा हामीलाई थाहा नभएको कुरा होइन’, उनले भने, ‘हाम्रो जिम्मेवारीभित्रको कुरा थियो । चार वर्षभित्र महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा हाम्रो भूमिका हुनु पर्थ्यो । भूमिका भएन ।’

उनले भने, ‘एक वर्ष थपेर ५ वर्षका लागि हामीले अधिवेशन सम्पन्न गर्नको लागि भूमिका सहजपूर्ण ढंगले हामीले भूमिका खेल्न सकेनौँ । व्यक्तिगत रुपमा हामीले ठूलोठूलो कुरा गर्छौं ।’

‘यो बारेमा आत्मसमीक्षा गर्न जरुरी छ । परिस्थिति जटिल छ’, भण्डारीले भने, ‘कोरोना महामारीको कारणले कति असर पार्ने हो ? असर परिरहेको अवस्था छ । अझै कस्तो असर पर्छ थाहा छैन ।’

‘अन्तिम अवस्थामा अधिवेशनको कुरामा युवा पुस्ताको भूमिका कमजोर भयो । राष्ट्रिय राजनीतिको पनि ठूलो प्रभाव पर्छ’, उनले भने, ‘केन्द्रीय समितिभन्दा बाहिरका साथीहरूले सल्लाह, सुझाव दिनुपर्छ । ती कुरामा केन्द्रीय समितिमा छलफल गरौँला ।’

कांग्रेस नेता भण्डारीले हिन्दूराष्ट्रको मागलाई उठाउँदै आएका छन् । उनले हिन्दूराष्ट्रको एजेण्डलाई कांग्रेसको १४औँ महाधिवेशन जबर्जस्त रुपमा उठाउने तयारी गरेका छन् ।

कार्यक्रममा कांग्रेस नेता गोविन्द भट्टराई, सुरेन्द्र पाण्डे, गगन थापा, प्रदीप पौडेल, किरण गिरी, डडेलधुराका सभापति कर्ण थापा, पाँचथरका सभापति नरेन्द्र केरुङ, नृपबहादुर सुनार, बद्री अर्याल, नारायण घिमिरे, धर्मेन्द्र झालगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2021 June 1, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया