निराश भएर शंकर पोखरेलले टाप कसे, बालुवाटारले पनि कांग्रेसलाई मान्यो

काठमाडौं । लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य उप–निर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डेयले शानदार विजयी हालिस गरेका छन् ।

लुम्बिनी प्रदेशको राजधानी दाङको घोराही सोमबार भएको मतदानपछिको अन्तिम नतिजामा पाण्डे ४,१४० मतसहित विजयी भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसका पाण्डेलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल (जसपा), एमालेको माधव नेपाल समूहले मतदान गरेको थियो ।

कांग्रेसका पाण्डेसँग नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चन्द्रबहादुर खड्का पराजित भएका छन् । खड्काले ३६१२ मतभार प्राप्त गरेका थिए । कांग्रेसका पाण्डे र एमालेका खड्काबीच ५२८ मत अन्तर रहेको छ ।

लुम्बिनीमा प्रदेश सभा सदस्य ८३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उप–प्रमुख २१७ गरी जम्मा ३०० जना मतदाता छन् ।

प्रदेश सभा सदस्यतर्पm ८३ जना र स्थानीय तहतर्फ २१३ जना गरी जम्मा २९६ जनाले मतदान गरेको आयोगले जनाएको छ । यसमध्ये कोरोना भाइरस संक्रमित मतदाताको संख्या २७ जना रहेको विज्ञप्तिमा उल्लेख छ । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ रहेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा निर्वाचनमा खटिने निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी लगायत राष्ट्रसेवक कर्मचारीहरू तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई आयोगले धन्यवाद दिएको छ ।

एमालेका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्लामा भएको मतदानमा उनकै पार्टीका उम्मेदवार खड्काले नराम्रोसँग पराजय भोग्नुपरेको छ ।

खड्कालाई राष्ट्रिय सभामा जिताउनका लागि मुख्यमन्त्री पोखरेलले सबै प्रयासहरू गरेका थिए । तर, पोखरेल एमालेका उम्मेदवार खड्कालाई जिताउन असफल भएका छन् । पोखरेल निराश भएर दाङबाट फर्किएका छन् ।

यसअघि माओवादी केन्द्रको तर्फबाट निर्वाचित खड्का एमालेमा प्रवेश गरेपछि उप–निर्वाचन भएको हो । एमालेले खड्कालाई नै पुनः उम्मेदवार बनाएको थियो ।

सोमबार निर्वाचित पाण्डे यसअघि एमालेको तर्फबाट लुम्बिनीको प्रदेशको प्रदेश सभा सदस्य थिए । उनले १९ वैशाखमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए ।

मुख्यमन्त्री शंकर पोखरेलाई समर्थन गर्नुपर्ने अवस्था आएपछि उनले सांसद पदबाट राजीनामा दिएका थिए ।

पाण्डे २०७४ मा भएको प्रदेश सभा निर्वाचनमा हृदेश त्रिपाठी समूहबाट सूर्य चिन्ह लिएर कपिलवस्तु क्षेत्र नम्बर २ ‘क’ बाट निर्वाचित भएका थिए ।

त्रिपाठी स्वतन्त्र समूहमै रहेपनि पाण्डे एमाले प्रवेश गरेका थिए । स्वतन्त्र समूहबाट चुनाव लड्नुअघि पाण्डे नेपाली कांग्रेसकै सक्रिय थिए ।

राष्ट्रिय सभामा कांग्रेसको एक सिट थपिएको छ । २०७६ माघमा १९ जना सांसदको दुई वर्षे पदावधि राष्ट्रिय सभाबाट सकिँदा भएको निर्वाचनमा कांग्रेसले ७ जना सांसद गुमाएको थियो ।

तत्कालीन समयमा कुल १३ जना सांसदमा सात जना उम्मेदवार नै पराजित हुँदा राष्ट्रिय सभामा कांग्रेस ६ जनामा खुम्चिएको थियो । अब कांग्रेसको संख्या राष्ट्रिय सभा ७ हुने भएको छ ।

Published : Monday, 2021 May 31, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया