बुढानिलकण्ठमा जनआन्दोलनलाई झल्को दिने बोल्ड निर्णय, ओली सरकारले तोरीको फूल देख्यो

काठमाडौं । नेपाली कांग्रेससहितका विपक्षी पाँच दलहरूले प्रधानमन्त्री खड्गप्रसाद ओलीको कामकारबाहीलाई सहयोग नगर्न अपील गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्डस्थित निवासमा आइतबार बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले राज्यका सबै अंग र निकायहरूलाई ओलीको संविधान विपरितको अलोकतान्त्रिक कामकारबाहीमा सहयोग नबन्न राज्यका सबै अंग र निकायहरूलाई आग्रह गरेको हो ।

‘प्रतिनिधि सभाको पुनः?थापना र प्रतिनिधि सभाका १४९ सदस्यहरूको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीका रुपमा हामीले विधिवत् दावी प्रस्तुत गरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कनैपनि कामकारबाही नगर्न सरकारलाई चेतावनी दिन चाहन्छौँ’, बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोग नहुन राज्यका सबै अंग र निकायहरूलाई पनि आग्रह गर्दछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक सर्वोच्चता, कानूनी शासन प्रणाली र स्वतन्त्र न्यायलय रहेको हाम्रो देशमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवसको संरक्षण भई न्याय प्राप्त हुनेमा हामी विश्वस्त छौँ’

‘लामो कठोर संघर्षबाट प्राप्त नेपालको संविधान र लोकतान्त्रको पक्षमा एकताबद्धरुपमा सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन हामी सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरू तथा आम जनमसुदायमा हार्दिक आह्वान गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

विपक्षी चार दलीय गठबन्धनले भनेका छन्, ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीबाट राष्ट्रपतिसँग मिलोमतो गरि नेपालको संविधानको विभिन्न धाराहरूको उल्लंघन गर्दै प्रतिनिधि सभा विघटन गरियो । प्रधानमन्त्रीद्वारा भइरहेको संविधानको उल्लंघन संघीय संसदमा पेश हुनुपर्ने बजेट अध्यादेशबाट ल्याउने कार्यमा पुनः प्रकट भएको छ ।’

‘देश कोरोना महामारीबाट आक्रान्त भइरहेको कठीन स्थितिको दुरुपयोग गरि प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा संविधानको अवहेलना र उल्लंघन गर्ने काम एकपछि अर्को गरि भइरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारको संरक्षणमा भ्रष्टाचार र कमिशनखोरी बढ्दा छ । राज्यसंयन्त्रको स्वेच्छाचारी रुपमा दुरुपयोग हुँदैछ ।’

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दर्गा पौडेलसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

ओली सरकारले शनिबार अध्यादेशबाट चुनावलाई असर पर्ने गरेर आचारसंहिता उल्लंघन गरेर पूर्णरुपमा बजेट ल्याएको अर्को दिन विपक्षी गठबन्धनको बैठक बसेर ओली सरकारलाई सहयोग नगर्न अनुरोध गरेका छन् ।

Published : Sunday, 2021 May 30, 12:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया