ओली–पौडेलको छातीबाट फरक छुट्याउनुस्, अर्थ मन्त्री संसद विघटनको विपक्षमा !

काठमाडौं । कामचलाउ कम्युनिस्ट सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब ६७ करोडको बजेट ल्याएका छन् ।

झण्डै दुईतिहाइ बहुमत हुँदा पनि पार्टी र सरकार मिलाउन नसक्दा प्रधानमन्त्री खड्गप्रसाद ओली र उनका अर्थमन्त्री पौडेलले शनिबार अध्यादेशबाट सानो कोठाबाट बजेट जारी गरेका हुन् ।

कथित वामगठबन्धनको नाममा भोट मागेर झण्डै दुईतिहाइ मत पाएपनि व्यक्तिगत स्वार्थ र झगडाले पार्टीनै विभाजन हुँदा एमाले भन्ने पार्टी फुटको अन्तिम संघारमा छ । फुटको औपचारिक घोषणा हुन मात्रै बाँकी छ । नेताहरूलाई ओलीले कारबाहीको श्रृङखला चलाएका छन् ।

अध्यादेशबाट बजेट पढ्ने बेला सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको एउटा सानो कोठामा उभिएर पौडेलले बजेट सार्वजनिक गरेका थिए । नजिकै बसेका ओलीले टुलुटुलु हेरेर बसेका थिए । कार्यक्रममा मन्त्री र केही उच्च अधिकारीहरू तथा सीमित पत्रकारहरूको उपस्थिति रहेको थियो ।

खिन्न अवस्थामा देखिएका ओलीले प्रतिनिधि सभा सांसदको पदको लोगो लगाएका थिएनन् । ओलीले आफ्नो कोटमा राष्ट्रिय झण्डा लगाएका थिए । आफैले विघटन गरेको प्रतिनिधि सभाको लोगो ओलीले लगाउने कुरा पनि भएन ।

तर, ओलीकै अर्थमन्त्री पौडेलले भने विघटन भएको प्रतिनिधि सभाको लोगो लगाएका थिए । पौडेललाई प्रतिनिधि सभाको सांसदको लोगो साह्रै मन परेको रहेछ । पौडेलले विघटन भइसकेको सांसद पदको लोगो लगाएको देखिएको छ ।

अर्थमन्त्री पौडेलले पनि प्रतिनिधि सभा विघटन गर्ने निर्णयमा सहिछाप लगाएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा संसद विघटनको सिफारिस गर्ने ओलीको प्रस्तावमा पौडेलले सहिछाप गरेका हुन् । आफैले विघटन गरेको संसदको लोगो भने पौडेललाई प्यारो लागेको छ । सांसद पदको लागो छाड्न सकेका रहेनछन् ।

ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा मध्यराति विघटन गरेकी थिइन् । ओली–भण्डारीले नरुचाएको प्रतिनिधि सभाको सांसद पदको लोगो आफ्नै अर्थमन्त्री पौडेलले बजेट पढ्ने बेला लगाएपछि धेरैलाई चासो बढेको छ । ओली–भण्डारीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय पौडेलले रुचाएका छैनन् भन्ने कुराको अर्थ धेरैले लगाएका छन् ।

अर्थमन्त्री पौडेलले विघटन भएको संसदको सांसद पदको लोगो लगाएर आफू संसद विघटनको विपक्षमा छु भनेर सन्देश दिन खोजेको सामाजिक सञ्जालमा चर्चा भएको छ ।

ओलीको कम्युनिस्ट सरकारले निर्वाचनको घोषणा गरेको छ । निर्वाचन घोषणा गरेका बेला मतदातालाई प्रभावित तुल्याउने कार्यक्रम ल्याउन मिल्दैन । पौडेलले वृद्ध भत्ता बढाउने, कर्मचारीको तलव वृद्धि गर्ने, पत्रकारहरूलाई विभिन्न सुविधालगायतका कार्यक्रम ल्याएका छन् । उनको यो वितरणमुखी बजेट कार्यान्वयन हुने सम्भावना निकै कम छ ।

ओली सरकारको बजेटले एमालेलाई भने खुसी बनाएको छ । अन्य जनताका लागि यो बजेले कुनै प्रभाव छाड्न सकेको छैन । कांग्रेससहितका पूर्वअर्थमन्त्री, उद्योगी, व्यवसायीहरूले बजेटलाई रुचाएका छैनन् ।

बजेटमा चालु खर्च ६ खर्ब ७८ ब ६१ करोड रहेको छ । पुँजीगत खर्च ३ खर्ब ४७ अर्ब ३६ करोड रहेको छ । वित्तीय व्यवस्थामा २ खर्ब ७ अर्ब ९७ करोड रहेको छ । वित्तीय हस्तान्तरण ३ खर्ब ८६ अर्ब ७१ करोड रहेको छ ।

राजस्व १० खर्ब २४ अर्ब ९० करोड, बैदेशिक अनुदान ६३ खर्ब ३७ करोड, आन्तरिक ऋण २ खर्ब ५० अबै र वैदेशिक ऋण ३ खर्ब ९ अर्ब २९ करोड रहेको छ ।

Published : Saturday, 2021 May 29, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया