कांग्रेसद्वारा २१ स्थानका नयाँ र नवीकरण गरिएका क्रियाशील सदस्यको नाम सार्वजनिक, नाम हेर्न मिल्ने

काठमाडौं । नेपाली कांग्रेसले थप १६ जिल्लाका २१ स्थानको क्रियाशील सदस्यता नवीकरण र नयाँतर्फको प्रस्तावित नामावली सार्वजनिक गरेको छ ।

कांग्रेसद्वारा जारी विज्ञप्तिअनुसार बाँकी नामावली क्रमशः सार्वजनिक गरिनेछ । यसअघि पनि कांग्रेसले केही जिल्ला र स्थानहरूको क्रियाशीलको नामावली सार्वजनिक गरिसकेको छ ।

सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताको लागि प्रस्ताव गरिएका ४५ जिल्लाका ८० स्थानमध्ये केहीको नवीकरण र नयाँ दुवै तथा केही स्थानको नवीकरण मात्रको प्रस्तावित नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि वेबसाइटमा राखिएको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसको वैशाख ६ गतेको निर्णयानुसार केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले वैशाख ३० गते प्रेस विज्ञप्तिमार्फत पार्टीको आधिकारिक वेवसाइटमा सार्वजनिक गरेको थियो ।

समितिको जेठ १४ गते बसेको बैठकको निर्णयानुसार थप १६ जिल्लाका २१ स्थानको नवीकरण र नयाँतर्फको प्रस्तावित नामावली सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

शनिबार सार्वजनिक गरिएका नामावली उपर कुनै उजुरी वा गुनासा भएमा यस समितिको नाममा पार्टीको इमेलमार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले जेठ २२ गतेभित्र लिखित उजुरी गुनासो पठाउन सक्नेछन् ।

कांग्रेसले डा.प्रदीप पराजुलीलाई ९८५१०४४०६५, केशव रिजाललाई ९८५११२९०७८ र रामचन्द्र घिमिरेलाई ९८५११२४१९८ मा पनि उजुरी वा जानकारी गराउन सक्ने विज्ञप्तिमा उल्लेख छन् ।

सार्वजनिक गरिएका प्रस्तावित नामावली उपर परेका उजुरी र गुनासाका सम्बन्धमा, क्रियाशील सदस्यता छानविन समितिले गरेको निर्णयानुसार प्रस्तावित नामावलीको अन्तिम सूची कायम हुने कांग्रेसले जनाएको छ । बाँकी रहेका जिल्ला र स्थानको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि क्रमशः सार्वजनिक गरिनेछ ।

Published : Saturday, 2021 May 29, 6:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया