शनिबार कम्युनिस्ट शासकको मुटु थर्कियो, कठोर बने देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताएका छन् ।

कांग्रेस सभापति देउवाले गणतन्त्र दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै भने, ‘लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्दछ र बन्नु पर्दछ ।’

देउवाले भने, ‘देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं ।’

एमाले र माओवादी केन्द्रले राजनीतिक स्थायित्व र समृद्धिको नारा दिएर कथित वाम गठबन्धनको नाममा झण्डै दुईतिहाइको बहुमत पाएका थिए ।

खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिल्न नसक्दा पार्टी पनि विभाजन गरेका छन् । प्रतिनिधि सभा दुई पटक विभाजित भइसकेको छ । यही सन्दर्भमा देउवाले कम्युनिस्ट प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति दिएका हुन् ।

देउवाले लोकतन्त्र दिवसका अवसरमा दिएको शुभकामनामा कम्युनिस्ट शासकविरुद्ध कठोर अभिव्यक्ति दिएर कांग्रेस मात्रै देश र जनताको पार्टी हो भन्ने सन्देश दिएका छन् । देउवाका यो अभिव्यक्तिले कम्युनिस्ट शासकहरूको मुटु थर्किएको कांग्रेसका नेताहरूको टिप्पणी छ ।

‘अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा अपील गर्दछु’, उनले भने ।

सभापति देउवाले कोभिड—१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको बताएका छन् ।

उनले जनताको जीवनप्रति सरकार सर्वथा उदासीन र संवेदनहीन देखिएको आरोप समेत लगाएका छन् ।

‘यस स्थितिमा संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका लागि म सबैलाई आग्रह गर्दछु’, देउवाले भने ।

‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु’, उनले भनेका छन् ।

देउवाले शहीदको बलिदानीको स्मरण गर्दै गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना प्रकट गरेका छन् ।

Published : Saturday, 2021 May 29, 9:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया