शव व्यवस्थापन गर्न जलजलामा समिति, महामारीमा साथी बनेर तरुण दलले लियो जिम्मेवारी

लामाखेत । पर्वत जिल्लाको जलजला गाउँपालिकाले कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्न शव व्यवस्थापन समिति बनाएको छ ।

कोरोनाबाट मृत्यु भएकाहरूको शव उठाउँदा कोरोना सर्न सक्ने भन्दै स्थानीयहरू डराएपछि गाउँपालिकाले समिति बनाएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले जानकारी दिए ।

जलजला गाउँपालिका– २ का वडाध्यक्ष गोविन्द खत्रीको नेतृत्वमा शव व्यवस्थापन समिति बनेको छ । समितिमा नेपाल तरुण दल जलजलाका अध्यक्ष प्रकाश पुन, समाज कल्याण प्राविका प्रधानाध्यापक डम्बर जिसी र गाउँपालिकामा कार्यरत तीन जना नगर प्रहरी रहेका छन् ।

अध्यक्ष मल्लले भने, ‘गाउँमा केही दिनयता दैनिक जस्तै मान्छेको कोरोनाबाट मृत्यु भइरहेको छ । शवको व्यवस्थापन गर्न समस्या भएपछि समिति बनाएका छौँ ।’

कतिपयले कोरोना परीक्षण गर्नै मानेका छैनन् । कोरोना परीक्षण नगरेका मान्छे मर्दा समेत स्थानीयले शव छुन डराएका छन् । शव नउठ्ने समस्यापछि शव ब्यवस्थापन समिति बनाएको अध्यक्ष मल्लले बताएका छन् ।

यसअघि कोरोनाका कारण निधन भएका व्यक्तिको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको थियो । सेनालाई बोलाएर शव व्यवस्थापन गर्दा खर्चले धान्न नसकेपछि जलजला गाउँपालिकाले समिति बनाएको छ ।

‘नेपाली सेनालाई बोलाएपछि गाडी पठाएर ल्याउन पर्‍यो, पुर्‍याउन पर्‍यो, फर्केपछि १२/१३ दिनसम्म क्वारेन्टाइनमा बस्ने, त्यो अवधिमा पाँच हजारको दरले खर्च ब्यहोर्दा कम्तीमा एउटा शवको ब्यवस्थापन गर्न एक लाख लाग्ने भयो’, अध्यक्ष मल्लले भने ।

शव व्यवस्थापनको महँगो खर्च बचाउन आफैले शव व्यवस्थापन समिति बनाएर काम गर्न लागेको उनले बताए ।

कोरोनाका कारण नभनेका कारण गाउँमा कोरोनाभाइरसको संक्रमण फैलिएको मल्ले बताएका छन् ।

जलजला गाउँपालिकाले बिरामीको उद्धार, औषधोपचार, स्वास्थ्यकर्मी परिचालन, स्वास्थ्य सामग्री बितरणलगायतमा राम्रो ब्यवस्थापन गर्दै आएको छ ।

अध्यक्ष मल्लले जलजलाका सर्वसाधारको जीवन रक्षा गर्न २० लाख बराबरको स्वास्थ्य सामग्री ल्याएका छन् । स्वास्थ्य सामग्रीहरू पनि वितरण गरेका छन् । जनतको जीवन रक्षाका लागि अध्यक्ष मल्ल कोरोना रोकथाम र नियन्त्रण तथा उपचारमा आफै खटिएका छन् ।

Published : Saturday, 2021 May 29, 12:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया