अरुलाई सिध्याउन खोज्दा ओली नराम्रोसँग चिप्लिए, गंगाले काम फत्ते गर्न सकेनन्

धनगढी । चारैतिरबाट एक्लिदै गएका एमालेका अध्यक्ष समेत रहेका कामचलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको योजना सुदूरपश्चिम प्रदेशमा फेल खाएको छ ।

बालुवाटारमा बसेको पछिल्लो स्थायी कमिटीबाट ओलीले सुदूरपश्चिम प्रदेशलाई दिएका समर्थन फिर्ता लिएर एमालेको नेतृत्वमा सरकार बनाउने निर्णय गरेका थिए । ओलीलाई उनकै शैलीमा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा जवाफ दिएर जिल खुवाइदिएको छ ।

ओलीले लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा एमालेको सरकार बनाउन विभिन्न घटनाहरू गरेको आरोप छ । लुम्बिनी प्रदेशमा विपक्षी दलहरूलाई सरकार बनाउन नदिन ओलीले शंकर पोखरेललाई राजीनामा गर्न लगाएर अविश्वासको प्रस्ताव छल्न लगाएका थिए । ओलीले जसपालाई फुटाएर सरकार बचाउने प्रयास गरेका थिए ।

ओलीले गण्डकी प्रदेशमा पनि राष्ट्रिय जनमोर्चाका दुई जना सांसदलाई बिद्रोह गराएर पृथ्वीसुब्बा गुरुङलाई पुनः मुख्यमन्त्री बनाएका छन् । गण्डकीमा पनि विपक्षी दलहरूलाई सरकार बनाउनबाट ओलीले नै रोकेका हुन् ।

गण्डकी प्रदेशमा आफूले भनेअनुरा गर्नका लागि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रदेश प्रमुखमा एमालेकी नेतृ सीता पौडेललाई नियुक्त गरेका थिए । पौडेलले ओलीले भनेअनुरा काम गरेकी थिइन् ।

सुदूरपश्चिम प्रदेशमा भने ओलीले भनेअनुसारको काम भएको छैन । ओलीले सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख बनाएका थिए । यादवले ओलीको डिजाइनलाई सफल बनाउन सकेनन् । ओली सुदूरपश्चिम प्रदेशमा असफल भएका छन् ।

यसैबीच, एमालेबाट विद्रोह गरेका सांसदहरूले शुक्रबार सुदूरपश्चिममा नवनियुक्त मन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख यादवले नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनीयताको सपथ खुवाएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले राज्यमन्त्रीलाई सपथ खुवाएका छन् ।

सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले सपथ लिएका छन् ।

चुनकुमारी चौधरी, अर्चना गहतराज, मानबहादुर सुनार, मना साउदले राज्यमन्त्रीमा सपथ ग्रहण गरेका छन् ।

यता, एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका एक मन्त्री र दुई निवर्तमान मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

बिहीबार स्पष्टीकरण सोधिएका संसदीय दलका नेता तथा नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाह, पूर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग वन वातावरण तथा पर्यटनमन्त्री माया भट्टलाई पार्टीबाट निष्कासन गरिएको हो ।

एमाले प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले उनीहरूलाई पार्टीले कारवाही गरेको जानकारी दिएका छन् ।

शुक्रबार विस्तार भएको प्रदेश मन्त्रिपरिषदमा सहभागी भएका मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने तयारी एमाले प्रदेश कमिटीको छ ।

Published : Friday, 2021 May 28, 11:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया