डाक्टर–नर्स कुट्ने केपी ओली–शंकर पोखरेलका नेता, एकजना बलत्कार मुद्धा खेपेका मान्छे

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरूलाई सत्तारुढ एमालेका नेताहरूले ज्यान लिने गरेर कुटपिट गरेका छन् ।

दाङको तुलसीपुर उप–महानगरपालिका– ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आफन्तले डाक्टर र नर्सहरूलाई कुटपिट गरेका हुन् ।

डाक्टर र नर्सहरूलाई कुटपिट गर्ने एमालेका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओली र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका नेता कार्यकर्ताहरू हुन् । उनीहरूलाई बचाउन ओली–पोखरेलले दवाव दिने हुन् कि भनेर डाक्टर र नर्सहरू डराएका छन् ।

पक्राउ परेका मानबहादुर रावत एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन् । रावत यसअघि तुलसीपुर उप–महानगरपालिकामा सुब्बा हुँदा मेयर घनश्याम पाण्डेका स्वकीय सचिव थिए ।

रावतले एक जना कार्यपालिका सदस्यमाथि अभद्र व्यवहार गरेको आरोपमा जागिर फुत्किएको थियो । पक्राउ परेका रावत एमालेको दाङ जिल्ला सचिवालय सदस्य पनि हुन् ।

देउखुरीकी एक महिलालाई एमालेका नेता रावतले बलात्कार गरेको आरोप लागेको थियो । उनले बलात्कार अभियोगमा मुद्दा पनि चलेको थियो ।

मृतकका भाई मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४÷५ जनाको समूहले अस्पतालका डाक्टर र नर्समाथि आक्रमण गरेका थिए । रावतको बिहीबार राति ८ बजे मृत्यु भएको थियो ।

घटनामा संलग्नमध्ये मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिएका छन् ।

भेरी अस्पताल विकास समितिका सदस्य कृष्ण श्रेष्ठले मृतकका आफन्तहरूको आक्रमणले ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको बताएका छन् ।

रावतको समूहले आइसियू कक्षमा डाक्टर र नर्सहरूमाथि हातपात गर्नुका साथै पीपीई सेट लगाएका नर्सलाई घाँटी अठ्याउने, लात्ताले हान्नेजस्ता हर्कत गरेको विकास समितिका सदस्य श्रेष्ठले जानकारी दिएका छन् ।

नर्सहरू भागेर शौचालयतर्फ जाँदा पनि त्यहिँ गएर रावतको समूहले आक्रमण गरेका थिए । केही नर्स ज्यान जोगाउन अस्पतालको छतबाट हाम फालेका थिए ।

उनीहरूको आक्रमणबाट डा.दीपक गुप्ता, डा.चन्द्रप्रकाश साहु, डा.समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको छ ।

रावतका आफन्तले अस्पताल तोडफोड पनि गरेका छन् । पंखा, टेबुल, कुर्सी र झ्याल ढोकासमेत तोडफोड गरेको सदस्य श्रेष्ठले बताएका छन् ।

यसैबीच, शुक्रबार डाक्टर र नर्सलाई कुटपिट गर्ने एमालेका नेता तथा कार्यकर्ताहरूलाई कारबाहीको माग गरेर अस्पतालमा प्रदर्शन भएको छ । उनीहरूले चर्का नारावाजी लगाएका छन् ।

Published : Friday, 2021 May 28, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया