भण्डारीको ‘गेम प्लान’ले नयाँदिल्लीमा भाजपाभित्र हँगामा, दूतावासमा आकस्मिक भेट

काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का नेताहरू र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यबीच भेटवार्ता भएको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथावालेसहितका नेताहरूले बिहीबार राजदूत आचार्यसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपाल–भारतबीचको सम्बन्ध र राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप मागेको विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र पठाएर कोरोनाविरुद्धको खोप मागेपछि भाजपाका नेताहरूले चासो देखाएका हुन् ।

भारतसँग कुटनीतिक पहलमार्फत खोप माग्नुको साटो भण्डारीले प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई उछिनेर खोप मागेपछि नेपालको कुटनीतिक कमजोरीका विषयमा आलोचना भएको छ ।

सरकारले कुटनीतिक पहल गर्नुपर्ने बेला भण्डारीले पत्र पठाएर खोप मागेको विषयलाई भारतका नेताहरूले रुचाएका छैनन् । नेपालको सरकार कुटनीतिमा कमजोर भएको तर्फ संकेत गर्दै भाजपाका नेताहरूले राजदूत आचार्यलाई भारत सरकारसँग परामर्श गरेर अगाडि बढ्न सुझाव दिएका छन् ।

राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति कोविन्दलाई पठाएको पत्रका विषयमा राजदूत आचार्यसँग भाजपाको विदेश विभागका प्रमुख चौथाइवालेले जिज्ञासा राखेका थिए ।

भाजपाका विदेश विभागका प्रमुख चौथाइवालेले चीनलाई फोन गरेर खोप माग्ने अनि भारतलाई पत्र पठाएर के गरेको भनेर घुमाउरो भाषामा प्रश्न गरेको स्रोतको भनाइ छ ।

भारतले सबैभन्दा पहिला नेपालले नमाग्दै कोरोनाविरुद्धको दश लाख डोज खोप निःशुल्क दिएको थियो । भारतले आफ्ना छिमेकी मुलुकहरूलाई खोप दिने बेला नेपाललाई पनि दिएको थियो ।

राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई फोन गरेर कोरोनाविरुद्धको खोप मागेकी थिइन् । चिनियाँ राष्ट्रपतिले पनि १० लाख डोज खोप दिने आश्वासन दिएका छन् । राष्ट्रपति भण्डारीले खोपको बहानामा चीन र भारतसँग राजनीति गरेको आरोप सामाजिक सञ्जालमा लागेको छ ।

भाजपाका नेता चौथाइवालेले नेपालले भारतसँग कस्तो खालको सहयोग चाहेको हो र खोपको विषयमा राजनीति गर्न खोजेको त होइन भनेर चिन्ता पनि जनाएका छन् ।

Published : Thursday, 2021 May 27, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया