ओलीको कुर्सी संकटमा परेका बेला चीनको अकस्मात प्रवेश, वरिष्ठ मन्त्रीको शंकास्पद गतिविधि

काठमाडौं । एमालेका महासचिव समेत रहेका कम्युनिस्ट सरकारका उप–प्रधानमन्त्री ईश्वर पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ तोवासँग वार्ता गरेका छन् ।

पोखरेलले बुधबार तोवासँग वार्ता गरेका हुन् । वार्ताका क्रममा पोखरेलले कोरोनाविरुद्वको खोप सहयोग गरिदिन आग्रह गरेको प्रेस नोटमा उल्लेख छ ।

चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव पोखरेलका बीच बुधबार भिडियो बैठक भएको छ ।

एमालेका महासचिव पोखरेलले खोपका लागि दुई देशबीच ठोस सहकार्यको जरुरत रहेको भन्दै सहयोगका लागि आग्रह गरेका छन् ।

‘नेपालीहरूको जीवन रक्षा गर्नुका साथै नेपाललाई कोरोना मुक्त गरी अर्थतन्त्रलाई पुरानै ठाउँमा फर्काउन दुई देशबीच खोपमा सहकार्यको जरुरत रहेको छ’, पोखरेलले भनेका छन् ।

उनले भने, ‘दुई देशबीचको गहिरो सम्बन्धका कारण खोप सहयोग हुनेमा म आशावादी छु ।’

खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालले अपील गरेको स्मरण गराउँदै उप–प्रधानमन्त्री पोखरेलले नेपाललाई ८ लाख डोज खोप सहयोग गरेकोमा चीनलाई धन्यवाद पनि दिएका छन् ।

उनले कोरोना महामारी लगत्तै नेपाल लगायत विश्वका बिभिन्न देशमा चीनले खेलेको भूमिका संसारकै लागि अनुकरणीय रहेको भन्दै प्रशंसा पनि गरेका छन् ।

कोरोनाविरुद्वको सामूहिक र दृढतापूर्वक लडाइँले मात्र महामारी नियन्त्रण सम्भव रहेको उप–प्रधानमन्त्री पोखरेलको विश्वास रहेको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओली सरकार बचाउन विभिन्न खेलहरू गरिरहेका बेला उनकै वरिष्ठ उप–प्रधानमन्त्री एवम् महासचिव पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टीसँग बैठक र वार्ता गरेका छन् ।

ओली सरकारलाई शुरुका दिनमा बचाउन दवाव दिँदै आएको चीनले फेरि आफूलाई नेपालमा सक्रिय बनाएको छ ।

पोखरेलले यसअघि पनि चिनियाँ कम्युनिस्ट पार्टीसँग पटक–पटक वार्ता र बैठकहरू गर्दै आएका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूलाई नेपालमा बोलाएर तत्कालीन नेकपाका नेताहरूलाई प्रशिक्षण समेत दिएका थिए ।

Published : Wednesday, 2021 May 26, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया