शंकर पोखरेलले गिरिजाबाबुलाई भगवान झैँ सम्झिए, जनता उपचार नपाएर मर्दै, मुख्यमन्त्री फेसबुकमा लाईक गन्दै

काठमाडौं । कीर्ते गरेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री पद कब्जा गरेको विपक्षी दलहरूको आरोप खेप्दै आएका शंकर पोखरेलले कोरोना महामारीका बेला जनताको काम गर्नेभन्दा पनि राजनीतिक गफ र फेसबुकमा लाइक गनेर बस्ने गरेको रहस्य बाहिर आएको छ ।

एमालेका नेता समेत रहेका मुख्यमन्त्री पोखरेलले फेसबुकमा लाईक गनेर दिएको प्रतिक्रियाले देशभरि बबण्डर मच्चाएको छ । पोखरेलले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालासँग एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई तुलना गरेर फेसबुकमा स्टाटस लेखेपछि त्यसमा आएका लाईक, कमेन्ट र सेयरहरू गनेर बसेका छन् ।

पोखरेलको स्टाटसमा धानु विष्टले कमेन्ट गरेका छन् । विष्टले कमेन्टमा लेखेका छन्– २००० प्रतिक्रियामध्ये १९९५ जनाले तपाईलाई मन पराएका छैनन् । कारण खोज्ने की मुख्यमन्त्रीज्यू ?

जवाफमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्– ४२ सयभन्दा बढिको लाइक पनि छ नि ।

मुख्यमन्त्री जस्तो व्यक्ति फेसबुकमा लाइक, कमेन्ट र सेयर गनेर बसेको देखेपछि धेरैलाई आश्चर्यचकित तुल्याइदिएको छ । मुख्यमन्त्री पोखरेलकै गृहजिल्ला दाङमा कोरोनाका बिरामीले अक्सिजन नपाएर जनताले जीवन गुमाउनु परेका समाचार आइरहेका छन् । निषेधाज्ञाका कारण अति विपन्न र मजदुरहरू खान नपाएर भोकै परेका समाचार पनि आउन थालेका छन् ।

कम्युनिस्ट मुख्यमन्त्री पोखरेल भने आफ्नो पार्टी एमाले र प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको बचाउमा फेसबुकमा स्टाटस लेखेर लाईक, कमेन्ट र सेयर गनेर बसेपछि आलोचना भएको छ । ओलीको बचाउमा पोखरेलले मंगलबार फेसबुकमा स्टाटस लेखेका थिए ।

‘अहिले केपी शर्मा ओलीका विरुद्धमा जस्तै अढाई दसक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रित थियो । त्यतिवेला उहाँको तिव्र विरोधसंगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल वन्दै गयो’, पोखरेलले भनेका छन् ।

‘मुलुक वहुआयामिक द्वन्द्वको शिकार बन्न पुग्यो । पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले उहाँको खोजी गर्नु प¥यो’, उनले भने, ‘अहिले नेपाली राजनीति पुनः त्यही बाटो हिँड्न लागिरहेको भान भइरहेको छ ।’

‘प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा पार्टीभित्र र वाहिरका शक्तिहरू जसरी एक ठाउँ उभिएका छन् त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसको छैन’, एमालेका नेता पोखरेलले भनेका छन्, ‘बरु प्रमुख नेताहरूको बढ्दो घेरावन्दीले उहाँप्रति नै सर्वसाधारणको सहानुभूति बढ्दो छ ।’

उनले भनेका छन्, ‘आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुडीका रुपमा मात्र वुझिरहेका छन् ।’

‘अनि यसबाट अत्तालिएका प्रतिपक्षीहरू विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएका छन्’, पोखरेलले भनेका छन्, ‘दलीय अनुशासन र संसदीय प्रणालीका विरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित छ ।’

‘त्यस्तो अवस्थामा विगतमा गिरिजाको खोजी भएजस्तै भविष्यमा उत्पन्न हुने संकटको समाधानका लागि केपी शर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न’, पोखरेलले भनेका छन्, ‘तसर्थ समयमै आफ्नै इतिहासवाट शिक्षा लेउ र सही बाटोमा अघि बढौं ।’

एमालेका नेता एवम् लम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले गिरिजाप्रसाद कोइरालासँग खड्ग्रप्रसाद ओलीलाई तुलाना गरेको धेरैले रुचाएका छैनन् ।

ओली सरकार चारैतिरबाट घेराबन्दीमा परेर समस्यामा परेपछि कांग्रेसलाई फकाउन पोखरेलले गिरिजाप्रसाद कोइरालालाई स्मरण गरेका छन् ।

तर, उनकै पार्टी एमालेले गिरिजप्रसाद कोइरालाको सरकारलाई असहयोग गरेर रत्नपार्ककको रेलिङ भाँच्नेदेखि ५८ दिनसम्म संसद अबरोध गरेर बितण्ड मच्चाएको थियो ।

एमालेले जस्तो कांग्रेसले बितण्ड मच्चाएको छैन । पोखरेलले के आधारमा गिरिजाप्रसाद कोइरालासँग खड्गप्रसाद ओलीलाई तुलना गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।

Published : Wednesday, 2021 May 26, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया