ओलीको कम्युनिस्ट सरकार जस्तो हुतिहारा छैन पर्वतको जलजला, माग्यो खोप खरिदको अनुमति

लामाखेत । पर्वत जिल्लाको जलजला गाउँपालिकाले कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई पत्राचार गरेको छ ।

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले मन्त्रालय र विभागलाई पत्राचार गरेर कोरोनाविरुद्धको खोप माग गरेका हुन् । खोप दिन नसके खोप खरिद गर्न अनुमति दिन सरकारसँग आग्रह गरेका छन् ।

मन्त्रालय र विभागसँग १५ सय भाएल खोप उपलब्ध गराइदिन पत्राचार गरिएको अध्यक्ष मल्लले बताएका छन् ।

नेपाली कांग्रेसका युवा नेता समेत रहेका अध्यक्ष मल्लले खोप उपलब्ध गराउन नसकेमा जलजला गाउँपालिकालाई आफ्नै खर्चमा खोप खरिद गर्न अनुमति पनि माग गरेका छन् ।

जलजला गाउँपालिकाको मल्लाज क्षेत्र कोरोनाको केन्द्र बनेको छ । जलजला गाउँपालिकाले लक्षण देखिएका र शंकास्पदहरूको स्वाबको नमूना संकलन गरि परीक्षणका साथै संक्रमितको उपचारको ब्यवस्था मिलाएको छ ।

संक्रमित उपचारका लागि अस्पताल पुग्न अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरेका छन् ।

कोरोना नियन्त्रणका लागि विपद ब्यवस्थापन कोष स्थापना गरेर सहयोग संकलन अभियानलाई निरन्तरता दिइएको छ । स्वदेश तथा विदेशबाट विभिन्न दाताहरूले जिन्सी एवम् नगद सहयोग गरिरहेका छन् ।

यसअघि, अध्यक्ष मल्लले काठमाडौंबाट नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीसँग अनुरोध गरेर करीव २० लाख बराबरको स्वास्थ्य सामग्रीहरू जलजला गाउँपालिकामा ल्याएका छन् ।

उनले अक्सिजन सिलिण्डर, अक्सिजन कनसन्ट्रेटर, बेड सिट, पीपीई, मास्क, सेनीटाइजर, भीटीएम, एन्टीजेन किटलगायत स्वास्थ्य सामग्री गाउँपालिकामा भित्र्याएका छन् ।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोरोना महामारी रोकथाम र उपचारमा काम गर्न नसकेको भनेर आलोचना भइरहेका बेला कांग्रेसले जितेको जलजला गाउँपालिकाले जनताको जीवन बचाउन खोपी खारिदको अनुमति मागेको छ ।

ओली सरकार जस्तो जलजलाको स्थानीय सरकार हुतिहारा छैन भन्ने खोप खरिदको अनुमति मागले स्पष्ट पारेको छ ।

Published : Wednesday, 2021 May 26, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया