प्रहरी हेडक्वाटरभित्र नयाँ भाइरस सक्रिय, आईजीपी हैरान, भूमिगत गिरोहको खोजी

काठमाडौं । नेपाल प्रहरीभित्र अति सम्वेदनशील सूचना र गोप्य उजुरबाजुर वा त्यस्तै प्रकृतिका कुराहरू बाहिरिने क्रम पुनः शुरु भएको छ ।

केही समय सूचनाहरू बाहिर लिक हुने क्रम रोकिएको थियो । प्रहरी महानिरीक्षक (आईजीपी)मा शैलेन्द्र थापा क्षेत्री आएपछि पुनः प्रहरी मुख्यालयबाटै गोप्य कुराहरू बाहिरिन लागेको गुनासाहरू आउन थालेका छन् ।

आफ्ना विरोधीहरूलाई ठेगान लगाउन उजुरबाजुर गर्न लगाउने र बदनाम गर्ने प्रवृत्ति नेपाल प्रहरीभित्रको पुरानो रोग हो । यो रोगले फेरि मलजल पाउन थालेको छ । प्रहरीभित्र रहेर गोप्य सूचनाहरू लिक गरेर बदनाम गर्ने समूह सक्रिय हुँदा पनि हेडक्वाटरले छाननिव गर्नतिर ध्यान नदिएको आरोप छ ।

अहिले फेरि एउटा भूमिगत गिरोह हेडक्वाटरभित्र बसेर आफ्ना विरोधीहरूको सूचाना बाहिर ल्याउन सक्रिय भएको छ । मिडियाबाजीमा लागेको छ । विगतका पुराना र सफाइ पाइसकेका विषयलाई समाचारका रुपमा बाहिर ल्याएर प्रहरीकै बदनामीमा भूमिगत गिरोह उत्रिएको छ ।

३३ किलो सुन काण्डका बेला इमान्दार र राम्रा प्रहरी अधिकृतहरूलाई जबरजस्ती फसाउने काम भएका थिए । सुनकाण्डमा धेरै प्रहरीलाई फसाएर बदनाम गर्ने काम भएको थियो ।

निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा पनि सक्षम प्रहरी अधिकृत र जवानहरूलाई फसाइएको थियो । पछि ती प्रहरी जवानदेखि उच्च अधिकृतहरूलाई प्रहरी नेतृत्वले सफाइ दिएको छ । अदालतले पनि न्याय दिएको छ । निर्मला प्रकरणमा लामो समय दुःख पाएका प्रहरी अधिकृत र जवानहरूले जिम्मवोरी पाइसकेका छन् ।

कतिपय प्रहरी जवानदेखि अधिकृतसम्मलाई भ्रष्टाचारका मुद्धा लगाउने काम पनि भएका छन् । सबै प्रहरी भ्रष्टाचारी हुँदैनन् । कतिपयलाई विरोधीहरूले फसाउन लागेका हुन्छन् । भ्रष्टाचारका मुद्धा लागेका अधिकांश प्रहरी जवान र अधिकृतहरूलाई अदालतले सफाइ दिने गरेको छ । सफाइ पाइसकेका ती प्रहरीलाई विरोधीहरूले समाचार लेखाएर कुन उदेश्यले बदनाम गर्न उत्रिएका हुन्छन् ? त्यही भूमिगत गिरोहलाई थाहा होला ।

प्रहरीमा मन नपरेका र आफ्ना विरोधीहरूलाई ठेगान लगाउन यौन दुर्व्यवहारको अर्को फण्डा पनि शुरु भएको छ । प्रहरीका जवानदेखि उच्च अधिकारीलाई मन परेन वा दुःख दिन मन लाग्यो भने सबैभन्दा सजिलो उपाय यौन दुर्व्यवहारको आरोप लगाउन राम्रो हतियार बनेको छ ।

प्रहरीका जवानदेखि उच्च अधिकारीविरुद्ध प्रहरीभित्र कारबाहीका लागि पर्ने उजुरीहरू मुद्धाको निरुपण नहुँदै किन मिडियामा सार्वजनिक हुन्छ ? भन्ने प्रश्न ठूलो रुपमा आएको छ । आरोपीलाई लागेको आरोप पुष्टि हुँदा स्वतः कारबाहीको भागिदार हुन्छ । तर, बदनाम गर्ने उदेश्यले हुने त्यस्ता आरोपहरूले व्यक्तिको मान, प्रतिष्ठा, इज्जतमा ठूलो धक्का लाग्ने गरेको पीडितहरूको भनाइ छ । सफाइ पाएका ती प्रहरी अधिकृत हुन् वा जवानहरू तिनीहरूको जीवनमा लागेको धब्बा वा क्षतिप्रति को जिम्मेवार हुने हो ? अर्को प्रश्न पनि छ ।

प्रहरी मुख्यालयबाटै गोप्य उजुरी, सर्कुलर, दस्तावेज लिक हुने कुरा नयाँ होइन । बेलाबेला गोप्य कुराहरू लिक भएर प्रहरी मुख्यालयलाई टाउको दुखाइ बनेको छ ।

तर, प्रहरी मुख्यालयभित्रैबाट गोप्य उजुरी, निवेदन, दस्तावेजहरू लिक भएर सञ्चारमाध्यममा छताछुल्ल हुँदा पनि सूचाना लिक गर्ने वा सूचना लिक हुने शाखाको प्रमुख र शाखामा कार्यरत अन्य प्रहरी कर्मचारीलाई कारबाही गरेका समाचार बाहिर आउँदैनन् । कि त प्रहरी नेतृत्वले लापरबाही गरेको छ । होइन भने हेडक्वाटरभित्रैबाट लिक हुने यस्ता सूचानाले प्रहरी नेतृत्वमाथि ठूलो प्रश्न उठ्न थालेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवम् एसएसपी बसन्तबहादुर कुँवरले प्रहरी संगठनभित्र केही नराम्रा प्रवृत्ति भएका ‘नमक हराम’हरू रहेका कारण समस्या भएको स्वीकार गरेका छन् । उनले भने, ‘आफ्नै संगठनको बदनाम गर्ने प्रवृत्ति भएका व्यक्तिहरू ‘नमक हराम’ हुन् । उनीहरूका कारण समस्या हुने गरेको छ ।’

‘प्रहरी संगठनभित्रका गोप्य कुरा, दस्तावेज, निवेदन, उजुरी वा यस्तै प्रकृतिका कुरा बाहिर लगेर मिडियामा दिने कुरा प्रहरी संगठनको आचारण विपरित हो’, उनले भने, ‘कुनै प्रहरी जवान वा अधिकृतहरूविरुद्ध उजुरी पर्छ भने सम्बन्धित निकायले छानविन गर्छ । छानविनको निर्णय नआउँदासम्म त्यस्ता कुरा बाहिर ल्याउनु भनेको अपराध हो । उजुरीअनुसार कुनै व्यक्ति दोषी भयो भने हामी आफैले कारबाही गर्छौं ।’
प्रवक्ता कुँवरले पेशाप्रति इमान्दार र प्रतिवद्ध रहन मातहतलाई आग्रह गरेका छन् ।

‘बदमासी गर्ने मान्छे जहाँ पनि हुन्छन्’, उनले भने, ‘प्रहरी संगठनभित्रैबाट हुने गलत कुरा र प्रवृत्तिलाई संगठनले बेलाबखत निगरानी गर्छ, कारबाही गर्ने काम गरिरहेको छ । सुपरभिजन गर्ने कुरा पनि भएको छ ।’

प्रवक्ता कुँवरले कुनै प्रहरी जवान वा अधिकृतहरूलाई समस्या पर्दा उजुरी दिँदा त्यसको गाम्भीर्यताका आधारमा छानविन गरेर सूचना लिक गर्ने वा मिडियावाजी गर्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

Published : Tuesday, 2021 May 25, 11:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया