ठाकुर–महतोद्वारा रक्षा, गृह र अर्थ मन्त्रालयको माग, रेशमलाई शुक्रबारसम्म छाड्ने सहमति

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तारको गृहकार्य गरिरहेका बेला महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो समूहले आकर्षक मन्त्रालयहरूमा दाबी गरेको छ ।

प्रधानमन्त्री ओलीले जसपालाई आठ मन्त्रालय दिन सहमति गरेको नेताहरूको भनाइ छ । ठाकुर–महतोले १० वटा मन्त्रालय मागेको चर्चा छ ।

ठाकुर–महतोले ८ मन्त्री र दुई राज्यमन्त्रीसहित १० मन्त्रालय तथा एउटा उप–प्रधानमन्त्रीमा दाबी गरेको जसपाका नेता राजीव झाले जानकारी दिए । नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान अन्तर्वार्ताका क्रममा नेता झाले जसपालाई उप–प्रधानमन्त्रीसहित १० मन्त्रालय दिनुपर्ने बताए ।

ठाकुर–महताले रक्षा, गृह र अर्थ मन्त्रालय मागेको बताए । ‘हामीलाई गृह, रक्षा र अर्थ मन्त्रालय चाहिएको छ । अनिर्वाय रुपमा दिनुपर्छ’, उनले भने, ‘गृह मन्त्रालय हामीले छाड्दैनौँ ।’

संसदीय दलको नेता महतोले सरकारमा नेतृत्व गरेर जाने उनले बताए । महतोलाई उप–प्रधान र गृह मन्त्रालय दिने विषयमा जसपाभित्र सहमति भएको भन्दै प्रधानमन्त्रीलाई पनि सोही निर्णयको जानकारी गराएको बताएका छन् ।

शुक्रबारसम्म सर्वोच्च अदालतबाट रेशमलाल चौधरीको मुद्धा टुङ्ग्याएर रिहाइ गर्ने तयारी भइरहेको जसपाका नेता झाले बताए । उनले भने, ‘सर्वोच्च अदालतमा पेशी भइसकेको छ । रेशमलाल चौधरीलाई शुक्रबारसम्म छाड्ने तयारी भएको छ । सहमति भएको छ ।’

टीकापुर घटनामा एक नाबालकसहित प्रहरीहरूको सामूहिक हत्याको अभियोगमा उच्च अदालतबाट सजाय पाएका चौधरी डिल्लीबजार कारागारमा थुनामा छन् । उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा मुद्धा दिएका छन् ।

Published : Tuesday, 2021 May 25, 10:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया