प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच अचानक राति भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसहितको विपक्षी गठबन्धनले प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित रिट निवेदन दिएकै दिन प्रधानमन्त्री खड्गप्रसाद ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली र राणाबीच सोमबार राति भेटवार्ता भएको उच्च स्रोतले जनाएको छ । ओलीको सचिवालयले भेटवार्ताका विषयमा केही भन्न मानेको छैन ।

राणालाई लिन ओलीले आफैँ सवारी साधन पठाएको चर्चा पनि छ । राणा राति पौने १० बजे बालुवाटार प्रवेश गरेका थिए । उनी राति करीव ११ बजे बाहिरिएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट राणा बालुवाटार छिरेको दाबी गरिएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल, एमालेका वरिष्ठ नेता माधव नेपाल समूह, राष्ट्रिय जनमोर्चासहितका १ सय ४६ निवर्तमान सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिनुपर्ने माग पनि गरेका छन् ।

Published : Monday, 2021 May 24, 11:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया