उपेन्द्र यादवले बल्ल देखाए ‘पावर’, ठाकुर–महतोको सातोपुत्लो उड्यो, एमालेको पुच्छरहरूको भागाभाग

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले प्रधानमन्त्री खड्गप्रसाद ओलीको पछिलग्गु भएर गएका अध्यक्ष महन्थ ठाकुरको समूहलाई कारबाही गर्ने निर्णय गरेको छ ।

राजधानीमा बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय कार्यसमिति बैठकले ठाकुरसहित चार शीर्ष नेताहरूमाथि कारबाही गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य मोहम्मद ईस्तियाक राइनले बताएका छन् ।

बैठकमा अध्यक्ष उपेन्द्र यादव समूहका केन्द्रीय सदस्यहरूको बहुमत रहेको दाबी गरिएको छ । जसपाले राजेन्द्र महतोलाई संसदीय दलको मान्यता दिएको छैन । पार्टीको संसदीय दलको विधान विपरित महतो जबरजस्ती दलको नेता बनेको आरोप छ ।

अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई विधान अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

ठाकुरसहितका यी चार नेताहरूसँग उपेन्द्र यादव समूहले पहिला स्पष्टीकरण सोध्नेछ ।

उनीहरूले चित्त बुझ्दो जवाफ नदिए कारबाही गरेर पार्टीबाटै निकाल्ने तयारी उपेन्द्र यादव समूहको छ ।

सरकार बनाउने विषयमा जसपाभित्र विवाद छ । ठाकुर–महतो प्रधानमन्त्री ओलीसँग मिलेर सरकार बनाउन बालुवाटारसँग निकट छन् ।

उपेन्द्र यादव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने पक्षमा छन् । जसपाका ३२ सांसदमध्ये उपेन्द्र यादवसँग १२ सांसद छन् । ठाकुर–महतोसँग २० सांसद छन् ।

यसैबीच, जसपाले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेको कदमलाई प्रतिगामी कदम ठहर गर्दै आपत्ति जनाएको छ ।

पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको र त्यसलाई बैठकले घोर निन्दा गरेको बताए ।

प्रधानमन्त्री कदमको विरुद्धमा शनिबार पाँच दलले गरेको निर्णय र जारी गरेको विज्ञप्तिप्रति जसपा नेपालको बैठकले समर्थन जनाएको उनले पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीको प्रतिगामी कदमको कानूनी उपचार खोज्ने तथा संघर्ष गर्ने निर्णय पनि भएको उनले बताएका छन् ।

Published : Saturday, 2021 May 22, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया