देउवाले भण्डारीलाई ‘तिमी’ भनेपछि ओली बालुवाटारमा बरबराए

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गरेर बोल्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘तिमी’ भनेर देउवाले विज्ञप्तिमा सम्बोधन गरेकोमा रिसाएका हुन् ।

संविधान विपरित मन्त्रिपरिषदबाट निर्णय गरेर प्रतिनिधि सभालाई भण्डारीमार्फत शुक्रबार मध्यराति दोस्रो पटक भङ्ग गराएका ओलीले देउवालाई अनुशासनको पाठ सिकाएका छन् ।

ओलीले देशलाई अराजकता र असभ्यतातिर लैजान खोजेको बताएका छन् । ‘जसले लोकतन्त्र मान्दैन, उनीहरूले आफूलाई लोकतन्त्रको हिमायती बनेर नक्कली कुरा गरिहेका छन्’, ओलीले भनेका छन् ।

‘मैले आज प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको औपचारिक वक्तव्य हरेँ’, ओलीले भने, ‘राष्ट्रपतिलाई तपाईसम्म भन्न सभ्यता नेपाली कांग्रेसमा रहेन । तिमी, उनी, यसो गरिन्, यस्तो भाषा बोलिएको छ ।’

‘जनसिद्ध श्रेष्ठताको पाखण्डी सिद्धान्तका आधारमा कुनै नालयक पात्र राजा नामको कोही हुन्थ्यो भने कस्तोकस्तो भाषा बोलेर निहुरिएर के–के भाषा बोल्ने यी मान्छेहरू, ओलीले देउवालाई गाली गर्दै भनेका छन् ।

‘आज जनताका छोराछोरी सम्मानित पदमा पुगे भने सम्मान गर्नु हुँदैन भन्ने ठान्छन्’, उनले भने, ‘तपाई पनि भन्नु हुँदैन भन्ने ठान्छन् राष्ट्रपतिलाई ।’
ओलीले अहिले असभ्य तरिकाले बोल्नु, अरुलाई तँ तिमी भन्नु बहादुरी ठान्ने गरेको भन्दै भण्डारीलाई तिमी भनेकोमा गुनासो गरेका छन् ।

‘अरु त चलेकै थियो । नेपाली कांग्रेसका सभापतिको पनि त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको ब्यापकता कहाँसम्मु पुगेछ भन्ने चाहिँ अचम्म लाग्यो’, ओलीले रुञ्चे भाषामा देउवालाई गाली गरेका छन् ।

उनले राजनीतिक रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६३ सालयताका १५ वर्षमा मानिसहरूलाई लगाएको बचन असभ्यता र संस्कारहीनताको पराकाष्टा भएको बताएका छन् ।

‘अहिलेको राजनीति त नेपाली कांग्रेसले पनि कसलाई गुरु थापेको हो मलाई अचम्म लाग्छ’, ओलीले भनेका छन् ।

कांग्रेस सभापतिको भाषा गणतन्त्रलाई खुइल्याउने खालको रहेको उनको भनाइ छ ।

‘असभ्य तरिकाले बोल्नु आफ्नो बहादुरी ठान्छन्’, ओलीले भने, ‘कांग्रेस सभापतिको भाषाको स्तर देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियान कहाँसम्म पुगेको छ भन्ने अचम्म लाग्छ ।’

राष्ट्रपति व्यक्ति मात्र नभई संस्था भएकाले सम्मान प्रकट गर्न ओलीले सबैलाई निर्देशन दिएका छन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले शुक्रबार संसदलाई दोस्रो पटक विघटन गरेका छन् । ओली–भण्डारीको यो कार्यको विपक्षी दलहरूले विरोध गरेका छन् ।

चारैतिरबाट एक्लिएका ओलीले भण्डारीलाई कसैले तिमी भनेर सम्बोधन गर्दा रिसाउन थालेका छन् । ओलीले चित्त दुखाउन थालेका छन् ।

सभापति देउवाद्वारा शनिबार जारी विज्ञप्तिमा भण्डारीलाई तिमी भनेर सम्बोधन गरेका छन् । भण्डारीलाई तिमी भनेपछि ओली बालुवाटारमा बरबराएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘प्रधानमन्त्री संविधान र लोकतन्त्रको धज्जी उडाउँदा उडाउँदै बरबराउन थाल्नु भएको छ । जे मन लाग्यो त्यही बोल्न थाल्नुभएको छ । ओलीले जीले कांग्रेसलाई लोकतन्त्र सिकाउने होइन । उहाँले सिक्नुपर्छ ।’

गगन थापाले पनि ओली र भण्डारीको आलोचना गर्दै भनेका छन्, ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा ! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड । सम्माननीय राष्ट्रपतिबाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो ।’

Published : Saturday, 2021 May 22, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया