कांग्रेसको निर्णयले बालुवाटार–शीतल निवासमा बबण्डर, बानेश्वरबाट अर्को धक्का दिने

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघठन गरेपछि रणनीति बनाउन नेपाली कांग्रेससहित विपक्षी पाँच दलको बैठक बस्न लागेको छ ।

शनिबार बैठक नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल (जसपा), एमालेका वरिष्ठ नेता माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाको बैठक बस्न लागेको छ ।

शनिबार ११ बजेपछि बस्ने बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल हुनेछ ।

बानेश्वरमा सर्वदलीय बैठक गर्ने र शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जनाकै तर्फबाट अदालतमा रिट हाल्नेबारे छलफल गर्ने कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

दोस्रोपटक प्रतिनिधिसभा विघटन गरी भण्डारीले कात्तिकमा पहिलो र मंसिरमा दोस्रो चरणको चुनाव घोषणा गरेकी छिन् ।

कांग्रेसले ओली र भण्डारीको हर्कतको विरोध गर्दै असंवैधानिक र अलोकतान्त्रिक भनेको छ । कांग्रेसले ओली र भण्डारीको असंवैधानिक गतिविधिको डटेर सामना गर्ने निर्णय पनि गरेको छ ।

Published : Saturday, 2021 May 22, 11:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया